चैत्राष्टमी मेलाको तयारी सकियो, शुक्रबारबाट सुरु हुदैँ

यस बर्षको ‘चैत्राष्टमी मेला २०७४’ शुक्रबारबाट सुरु हुँदैछ । कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा हुने उक्त मेलाको आवश्यक तयारी पूरा भएको जनाइएको छ ।

यहि चैत्र ९ देखि १३ गतेसम्म कालिका भगवती मन्दिर परिसरमा आयोजना हुने मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजक कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले जानकारी दिए ।

‘आवश्यक व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको छ’ उनले भने, ‘मेलाका लागि आवश्यक स्टल तथा मञ्च निर्माण, प्रचार—प्रसार र मन्दिर परिसरमा सरसफाईको काम अगाडी बढेको छ ।’ मेलाकोमा लोकदोहोरी गीत, खुला कालिका कप पुरुष भलिबल, खुला टि–ट्वान्टी क्रिकेट, खुला छेलो फाल्ने प्रतियोगिता आयोजना गरिएको छ ।

मेलामा रथयात्रा तथा नेपालका चर्चित कलाकारको सांगीतिक कार्यक्रम र रमाईंलो बालउद्यानको समेत रहेको खड्काले जानकारी दिए ।
बागलुङको धार्मिक पर्यटनको विकासमा टेवा पु¥याउने उद्देश्यले आयोजना गरिएको मेला नाफामुखी भन्दा पनि सेवामुखी हुने आयोजकले जनाएको छ ।

मेला आयोजनाका लागि विभिन्न सरकारी तथा निजी संघसंस्था, उद्योगी, व्यवसायीहरुको सहआयोजना मेला सञ्चालन गर्न लागेको खड्काले बताए । विगतका बर्षहरुमा भन्दा यस बर्ष कालिका भगवती मन्दिर परिसरमा निर्माण गरिएको कालिका बन्यजन्तु संरक्षण पार्कको अवलोकन, स्थानीय उत्पादनको प्रदर्शनी रहने खड्काले बताए ।