यसभन्दा पहिले पन्जाबका गरिब तथा साना किसानहरु पश्चिमी देशतर्फ लागेका थिए र त्यसपछि कामको राम्रो वातावरणको खोजीमा भारतीय प्रोफेसनलहरुले देश छोडे ।
मोर्गन स्टेनली इन्भेस्टमेन्ट म्यानेजमेन्टका मुख्य वैश्विक रणनीतिकार रुचिर शर्माले हालै दिल्लीमा आयोजित एक कार्यक्रममा बोल्दै आफ्नो देश छोड्ने करोडपतिहरुमा सबैभन्दा बढी भारतीय भएको बताएका थिए । उनको यो भनाइ एनडब्ल्यू वेल्थको सर्वेमा आधारित थियो, जसमा २०१४ देखि अहिलेसम्म करिब २३ हजार करोडपति भारत छोडिसकेको बताइएको थियो । केवल २०१७ मा मात्रै सात हजार करोडपति पलायन भए ।
आखिर यी करोडपतिहरु देश छोडेर किन र कहाँ जाँदैछन् ? इकोनोमिक टाइम्समा ईशानी दत्तागुप्ता लेख्छिन् – क्यानाडामा रियल स्टेट व्यवसायी तथा मेनस्ट्रिट इक्विटी कर्पका सीईओ बब ढिल्लोंले यसलाई भारतबाट पलायन हुने तेस्रो चरणका रुपमा लिइरहेका छन् । यसभन्दा पहिले पन्जाबका गरिब तथा साना किसानहरु पश्चिमी देशतर्फ लागेका थिए र त्यसपछि कामको राम्रो वातावरणको खोजीमा भारतीय प्रोफेसनलहरुले देश छोडे ।
देश छोड्ने सबैभन्दा धनाढ्यहरु अन्तर्राष्ट्रिय बजारमा पकड जमाउन एवम् आफ्नो उद्यमी सपनाहरुलाई पूरा गर्न अमेरिकाको बाटो तताएका छन् भनेर कुनै अचम्म मान्नु पर्दैन । इमिग्रेशन सेवा दिने कम्पनी ईबी–५ का वरिष्ठ उपाध्यक्ष ब्रेनान सिम भन्छन्, ‘छिटै ग्रिन कार्ड प्राप्त गर्न अमेरिकी ईबी–५ सबैभन्दा लोकप्रिय छ । किनकि यो सुरक्षित तथा अन्य कैयौं देशहरुमा नागरिकताका लागि प्रचलित तरिकाको अनुपातमा सस्तो छ । आफ्ना सन्तानलाई अमेरिकामा पढाउन पनि धेरै परिवारले यसैको माध्यमले ग्रिन कार्ड लिने गर्छन् । यसका अतिरिक्त एच–१बी भिसाको लामो प्रतीक्षासूचीमा भएका प्रोफेसनलहरु पनि यसैको सहायता लिइरहेका छन् ।’
ढिल्लों भन्छन्, ’क्यानाडा पनि भारतीय करोडपतिहरुका लागि मनपर्दो देश हो । क्यानाडामा मानिसहरुलाई राम्रो शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधारहरु उपलब्ध छन् । भारतीय मूलका मान्छेहरुले यहाँ विभिन्न क्षेत्रमा राम्रो काम गरिरहेका छन् ।’ मुम्बईमा वकालत गर्ने कानुनव्यवसायी पूर्वी चोथानी भन्छिन्, ४० कटेका करोडपति अभिभावकहरु आफ्ना सन्तानको शिक्षाका लागि पश्चिमी देशहरुमा जान चाहन्छन् ।
ग्लोबल ल फर्म डेभिस ऐन्ड एसोसिएट्सका ग्लोबल म्यानेजिङ पार्टनर मार्क आई डेभिस भन्छन्, केही भारतीय पोर्चुगल तथा ग्रेनेडा जस्ता देशहरुको नागरिकता सजिलै प्राप्त गरेपछि त्यसैको सहायताले अमेरिका, क्यानाडा तथा ब्रिटेनतर्फ मोडिन्छन् । उनले भने, ’उद्यमी भारतीयहरुलाई अमेरिकाले सबैभन्दा राम्रो अवसर दिने गरेको छ ।’