आइतबार पूर्व अमेरिकी राष्ट्रपति ओबामा र जापानी प्रधानमन्त्री सिन्जो आबेबीच भेटवार्ता भएको थियो । त्यस अवसरमा दुई देशबीचको आर्थिक लगानी र सम्झौताका विषयमा छलफल भएको बताइएको छ ।
टोकियो । उत्तर कोरिया संसारकै लागि एउटा ठूलो त्रास भएको अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले बताएका छन् ।
‘उत्तर कोरियाले आणविक अस्त्रहरुको उत्पादन र परीक्षण गर्ने गरिरहेको छ, यो एसियाका लागि मात्र नभएर संसारकै लागि एउटा ठूलो त्रास बनेको छ,’ उनले भने ।
जापानको भ्रमणमा रहेका पूर्व राष्ट्रपति ओबामाले आइतबार राजधानी टोकियोमा आयोजित एक कार्यक्रममा यस्तो धारणा राखेका हुन् ।
हामीले अहिले पनि उसका आणविक कार्यक्रमहरु र धम्कीका बारेमा सुनेका छौँ । तर पनि यसको समाधानका लागि कुनै पहल गरेको सुनेका छैनौँ,’ उनले भने, ‘उत्तर कोरियाले यस्तो प्रणालीको विकास गरिरहेको छ कि त्यसले विश्वलाई प्रतिदिन धम्की मात्र दिइरहेको छ । तर त्यस समस्या समाधानका लागि कुनै एकमात्र देशले मात्र केही गर्न पनि सक्दैन ।’
ओबामा प्रशासनका बेलामा उत्तर कोरियालाई संसारबाटै एक्ल्याउने रणनीति अपनाइएको र उसमाथि आर्थिक नाकाबन्दी लगाइएको जानकारी पनि उनले दिए ।
यसबाट उत्तर कोरिया संसारबाटै एक्लिने मात्र नभएर आर्थिक रुपमा पनि घुँडा टेक्ने र अन्त्यमा उसले सबै हातहतियार त्याग्ने अनुमान गरिएको उनले बताए ।
आइतबार पूर्वराष्ट्रपति ओबामा र जापानी प्रधानमन्त्री सिन्जो आबेबीच भेटवार्ता भएको थियो । त्यस अवसरमा दुई देशबीचको आर्थिक लगानी र सम्झौताका विषयमा छलफल भएको बताइएको छ ।