यूएई सरकारको निर्णयअनुसार चैत १८ गतेदेखि यूएई दूतावासमार्फत गरिने प्रमाणीकरण गर्न नपर्ने व्यवस्था मिलाएको हो ।
संयुक्त अरब इमिरेट्स(यूएई)ले नेपाली कामदारबाट भिषाका लागि प्रहरी प्रमाणपत्र प्रमाणीकरण आवश्यक नपर्ने निर्णय गरेको छ । यूएई सरकारको निर्णयअनुसार चैत १८ गतेदेखि यूएई दूतावासमार्फत गरिने प्रमाणीकरण गर्न नपर्ने व्यवस्था मिलाएको हो ।
यूएई सरकारले फेब्रुअरी ४ देखि नयाँ नियम लागू गर्दै वैदेशिक रोजगारीका लागि यूएई जाने कामदारले अनिवार्य रुपमा आचरण तथा चालचलनको प्रमाणपत्र पेस गर्नुपर्ने नियम सुरु गरेको थियो । सोहि नियमअनुसार कामदार आफैं रिपोर्ट लिएर दूतावास प्रमाणीकरणका लागि जानुपर्ने बाध्यताले काठमाडौंस्थित यूएईको दूतावासमा ३ सातासम्म कामदारको भीड लागेको थियो । उक्त रिपोर्टका लागि यूएई दूतावासले चार हजार तीन रुपैयाँ लिने गरेको थियो ।
यसअघि यूएईले २७ मार्चबाट लागू हुने गरी भारतसहित अन्य आठ मुलुकलाई भिषाका लागि आवश्यक पर्ने असल चालचलनसम्बन्धी प्रहरी प्रमाणपत्र प्रमाणीकरण आवश्यक नपर्ने निर्णय गरेको थियो । ‘गत बुधबारबाट नेपाली कामदारको पनि डकुमेन्ट लिन छोडेको र लिएका सबैको प्रमाणीकरण गरी कामदारलाई उपलब्ध गराइसकेको छ’, नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरुङले भने ।
यस्तो निर्णय गरेकाले अब नेपाली श्रमिकहरुलाई निकै सहज हुने भन्दै यूएई सरकारलाई सङ्घले धन्यवाद दिएको छ ।