एडीबीको एक अर्ब अनुदान स्वीकृत

यसैगरी भुक्तानी प्रणाली व्यवस्थित गर्न आवश्यक भुक्तानी तथा फछ्र्योट विधेयकबारे सैद्धान्तिक अवधारणाको अर्थ मन्त्रालयको प्रस्तावलाई स्वीकार गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले खानेपानी परियोजनाका लागि एसियाली विकास बैङ्कको एक अर्ब रुपैयाँको अनुदान रकम स्वीकार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

दिगो विकासको लक्ष्यअनुरुप अमेरिकी सरकारको करीब ५० करोड डलरको सहयोगमा सडक, यातायात सञ्चालन र विद्युतको ट्रान्समिसन लाइनसम्बन्धी काम गर्न नेपाल विकास समिति गठन गरिने निर्णय भएको छ । यसैगरी भुक्तानी प्रणाली व्यवस्थित गर्न आवश्यक भुक्तानी तथा फछ्र्योट विधेयकबारे सैद्धान्तिक अवधारणाको अर्थ मन्त्रालयको प्रस्तावलाई स्वीकार गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले यही चैत २३ देखि २५ गतेसम्म हुन लागेको प्रधानमन्त्री केपी शर्मा ओलीको मित्रराष्ट्र भारतको राजकीय भ्रमणलाई पनि स्वीकृत गरेको छ । बैठकले चिकित्सा शिक्षासम्बन्धी तथा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी प्रतिस्थापन गर्ने विधेयक आजै संसदमा टेबल गर्ने निर्णय गरेको छ । विधेयक तयारी सहजीकरण समितिमा पूर्वकानुन सचिव कमलशाली घिमिरेलाई नियुक्त गर्ने निर्णय भएको छ ।

नेपालको संविधानअनुसार जिल्ला शिक्षा कार्यालयहरु यही चैत २८ गतेदेखि नरहने व्यवस्था भएकामा मन्त्रिपरिषद् बैठकले हाल परीक्षा चलिरहेको हुँदा अन्तरिम व्यवस्थाका रुपमा जिल्ला समन्वय एकाइ स्थापना नभएसम्म २०७५ साल असार समान्तसम्म स्वीकृत बजेट कार्यक्रमभित्र रहेर कार्यालय रहने व्यवस्था गर्ने निर्णय गरेको छ । रासस