प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो आसन्न भारत भ्रमणबारे सार्वजनिक महत्त्वको वक्तव्य दिँदै उनले भारतका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा यही चैत २३ गतेदेखि आफू तीनदिने भ्रमणमा जान लागेको जानकारी दिए । प्रधानमन्त्री ओलीले यही चैत २३ देखि २५ गतेसम्म मित्रराष्ट्र भारतको राजकीय भ्रमण गर्दै छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकसँगको सम्बन्ध सन्तुलित, सुदृढ र विश्वासयुक्त बनाई नेपालको विकास र समृद्धिमा उनीहरुलाई साझेदार बनाउने क्रममा आफू भारत भ्रमणमा जान लागेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो आसन्न भारत भ्रमणबारे सार्वजनिक महत्त्वको वक्तव्य दिँदै उनले भारतका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा यही चैत २३ गतेदेखि आफू तीनदिने भ्रमणमा जान लागेको जानकारी दिए । प्रधानमन्त्री ओलीले यही चैत २३ देखि २५ गतेसम्म मित्रराष्ट्र भारतको राजकीय भ्रमण गर्दै छन् ।
मुलुकको समृद्धिका लागि छिमेकी भारत र चीनसँग सन्तुलित सम्बन्ध, भरपर्दाे, मैत्रीपूर्ण, समानता, पारस्परिक लाभ र विश्वासयुक्त वातावरणका आधार विकास गर्ने तथा छिमेकीलाई विकासका साझेदार बनाउने सरकारको अभीष्ट रहेको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले शङ्कारहित र भरपर्दाे मित्रता कायम गर्ने सरकारको नीति रहेको बताए ।
उनले भने, ‘छिमेकसँगको मित्रतापूर्ण सम्बन्ध, अहस्तक्षेपकारी नीति, संयुक्त राष्ट्रसङ्घको बडापत्र, नेपालको पञ्चशीलको आधार र राष्ट्रहित एवम् न्यायपूर्ण सम्बन्ध हाम्रो छिमेक सम्बन्धको प्रस्थानबिन्दु हो । देशको शिर झुक्ने कुनै काम गरिनेछैन । शिर उठाउने काम मात्र गरिनेछ ।’
भारतसँग पुरानो र घनिष्ट सम्बन्ध रहेको र कसैप्रति अर्घेल्याईं नगरी आफ्ना हितलाई राख्नुपर्ने उल्लेख गर्दै उनले दुई देशबीच सन् १९५० को सन्धिलगायत विषयमा पुनरवलोकन गर्न प्रबुद्ध व्यक्तिहरुको समूहले समीक्षा गरिरहेको बताए । अब दुई मुलुकबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास पनि उनले व्यक्त गरे । आफ्नो आसन्न भ्रमणलाई देश र जनताको अधिकतम हितमा कसरी उपलब्धिपूर्ण बनाउन सकिन्छ र आपसी सम्बन्ध थप मजबुत कसरी बनाउन सकिन्छ भन्ने विषयमा आफ्नो प्रयास हुने पनि प्रधानमन्त्री ओलीले बताए ।
प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो भारत भ्रमणमा धेरै सम्झौता नभई सम्बन्धलाई मजबुत बनाउनमा मात्रै केन्द्रित रहेको जनाउँदै भने, ‘दुई देशबीच आपसी सम्झौताभन्दा पनि भइसकेका सम्झौताको प्रभावकारी कार्यान्वयनमा ठोस प्रगतितर्फ मेरो ध्यान रहनेछ ।’
प्रधानमन्त्री ओलीले नेपालको कृषिमा आधुनिकीकरण, ऊर्जा उत्पादन र व्यापार वृद्धि, अशोभनीय व्यापार घाटा न्यूनीकरण, लगानीको आकर्षण, निर्यात वृद्धि, पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको प्रभावकारी कार्यान्वयन, कनेक्टिभिटीमा विस्तार, एकीकृत चेकपोष्ट, पारस्परिक हित अभिवृद्धि, हुलाकी राजमार्ग जस्ता विषयमा दुवैतर्फबाट सहजीकरण गर्ने र भूकम्पपछि भारतले गरेको प्रतिबद्धता र जिम्मेवारीलाई तीव्रता दिन गम्भीर कुराकानी हुने बताए । उनले नेपालका लागि भारतबाट सहुलितपूर्ण ऋण, नेपालको थप हवाईमार्ग र पारवहन थप सहज बनाउन, सीमा क्षेत्रको पूर्वाधार निर्माण, नेपालीहरुलाई सटही सुविधामा परेको नोक्सानी, क्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) शिखर सम्मेलन र बिमस्टेकजस्ता अन्य क्षेत्रीय सम्मेलनलाई सञ्चालन गर्ने विषयमा भारतीय समकक्षीसँग कुरा हुने बताए ।
भारत र पाकिस्तानबीचको तनावका कारण सार्क शिखर सम्मेलन हुन सकेको छैन ।
उनले आतङ्कवाद र मानव तस्करी नियन्त्रणलगायत साझा र भारतीय पक्षको जायज चासोका विषयमा नेपालले ध्यान दिने उल्लेख गर्दै भारतमा हुने उच्चस्तरीय भेटवार्तामा यी विषयमाथि छलफल हुने स्पष्ट पारे ।
नयाँ संविधान अनुकूल सबै तहका निर्वाचन भइसकेको र देशले निर्दिष्ट गन्तव्यको सुस्पष्ट मार्ग लिइसकेको सन्दर्भमा नयाँ सङ्कल्पका साथ समृद्धिको उचाइका लागि लाग्नुपर्नेमा उनले जोड दिए । उनले लोकतान्त्रिक आन्दोलन हुँदै विधिबाट निर्वाचित सुदृढ सरकारले आपराधिक र अराजकपूर्ण व्यवहारमा नियन्त्रण गरी मुलुकभित्रका सबै समस्याको शान्तिपूर्ण रुपमा समाधान गर्ने दृढता व्यक्त गरे । उनले भने, ‘त्यस्ता अपराध, तस्करी र अराजकपूर्ण व्यवहार सहँदैन, नियन्त्रण गर्न चाहन्छ, म जनतालाई आश्वस्त पार्न चाहन्छु ।’
प्रधानमन्त्री ओलीले हाल जनता सार्वभौम भएको अवस्थामा सार्वभौमसत्ताको सही प्रयोग गर्न उपलब्धिको रक्षा गर्दै लोकतन्त्रको प्रभावकारी कार्यान्वयन तथा राष्ट्रिय हितको प्रभावकारी संरक्षण गर्दै सबैलाई समान रुपमा अधिकार र अवसर दिन कटिबद्ध रहेको बताए । सुदृढ सामाजिक सद्भावका साथ शान्ति, स्थिरतालाई मजबुत गर्दै सम्पूर्ण ध्यान विकासमा केन्द्रित गर्नुपर्ने र त्यसका लागि भ्रष्टाचारप्रति असहिष्णु हुँदै सुशासन दिन अत्यावश्यक भएको उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले भारत भ्रमणका क्रममा त्यहाँका उद्योगी तथा व्यवसायीसँग छलफल, त्यहाँ रहेका नेपाली समुदायसँगको भेटघाट गर्नाका साथै उत्तराखण्डको कृषि तथा प्रविधि विश्वविद्यालयको अवलोकनसमेत गर्नेछन् । प्रकाश सिलवाल रासस, तस्बिर : नवीन पौडेल