दोलखामा वन्यजन्तु तस्करी बढ्दै

यस वर्ष मात्रै प्रहरीले वन्यजन्तु तथा वन्यजन्तुका अवयवहरु विक्रीका लागि लैजाँदै गरेका दर्जनभन्दा बढी पक्राउ गर्नुबाट दोलखामा वन्यजन्तु तस्करी बढ्दै गएको पुप्टि भएको हो ।

दोलखामा वन्यजन्तु सिकार तथा यसका अवयवहरुको तस्करी बढ्दै गएको पाइएको छ । यस वर्ष मात्रै प्रहरीले वन्यजन्तु तथा वन्यजन्तुका अवयवहरु विक्रीका लागि लैजाँदै गरेका दर्जनभन्दा बढी पक्राउ गर्नुबाट दोलखामा वन्यजन्तु तस्करी बढ्दै गएको पुप्टि भएको हो ।

वन्यजन्तु तस्करहरु शृङ्खलाबद्ध रुपमा पक्राउ पर्नुले पनि दोलखा वन्यजन्तु तस्करको आकर्षक थलो बन्दैजान लागेको आशङ्का गर्न थालिएको छ ।
मङ्गलबार दोलखा शैलुङ गाउँपालिका वडा नं. आठ चरङ्गेबाट भीमेश्वर नगरपालिका वडा नं. पाँच बस्ने सन्तोष पौडेललाई सालकको खपटा बिक्री गर्न हिँडिरहेको अवस्थामा पक्राउ गरिएको छ । उनको साथबाट दुई केजी सालकको खपटा बरामद भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
प्रहरीले नै खपटा खरिद कर्ताको रुपमा गएर दुई महिनाको प्रयासबाट पौडेललाई पक्राउ गरेको डीएसपी रामेश्वर कार्कीले बताए । यसअघि फागुन एक गते राति १० बजे विगु गाउँपालिका, ४ स्थित लामाबगर– सिँगटी सडक खण्डबाट जीवित मृग ट्रकमा लुकाई सिँगटीतर्फ ल्याउँदै गर्दा ट्रकचालक रुपक बुढाथोकीसहित ७ जनालाई प्रहरीले पक्राउ गरी कारवाहीका लागि गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनालाई बुझाएको थियो ।

साउन १२ गते भीमेश्वरनगरपालिका वडा नं. नौ बस्ने बमबहादुर श्रेष्ठलाई पक्राउ गरी उनको घरबाट चितुवाको हड्डी, सुकुटी र दुम्सीका विभिन्न अङ्ग बरामद गरिएको थियो । यस्तै साउन १६ गते नै भीमेश्वर नगरपालिका, ३ मा रहेको शेर्पा होटलबाट रेडपान्डाको छालासहित साविकको चङ्खु गाविस ६ का छोति शेर्पालाई दुर्लभ जनावर रेडपान्डाको छालासहित पक्राउ गरिएको थियो । साउन २५ गते भीमेश्वर नगरपालिका ५, तामाकोसीबाट शैलुङ गाउँपालिका, वडा नं. १ बस्ने लालबहादुर विक र मेलुङ गाउँपालिका वडा नं २ का रामबहादुर तामाङ चरिबाघको छाला दुई थान, ध्वाँसे चितुवाको छाला एक थान र सालकको खपटा डेढ किलोसहित पक्राउ परेका थिए । केही तस्करहरु समातिए पनि उनीहरुको सञ्जाल कहाँसम्म छ भन्ने कुरा अहिलेसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन । अहिलेसम्म व्यक्तिगत रुपमा वन्यजन्तुका अवयवहरु सङ्कलन गर्ने र बेच्नेहरु नै पक्राउ परिरहेको बताइन्छ ।

दोलखाको उत्तरी भेगका अधिकांश हिमाली क्षेत्रका जङ्गली भागहरु गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनाभित्र पर्दछन् । रेडपान्डाको छाला विगतमा तस्करबाट वरामद हुनुले दोलखाको हिमाली भेगमा वन्यजन्तुहरुको अवैध सिकार हुने गरेको आशङ्का गरिएको छ । तर गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनाका प्रमुख सत्यनारायण शाहले भने संरक्षण क्षेत्रभित्र त्यस्तो समस्या नरहेको बताए । उनकाअनुसार फेलापरेका वन्यजन्तु तस्करहरुलाई कानुनी कारवाही अगाडि बढाइएको छ । जनावरको संरक्षणका लागि संरक्षण क्षेत्र आयोजना संवेदनशील भएर लागिरहेको उनले बताए ।

यसैगरी गौरीशङ्कर संरक्षण क्षेत्र सम्पर्क कार्यालय दोलखाका सम्पर्क अधिकृत अमृत शर्माले हालसम्म गौरीशङ्कर संरक्षण क्षेत्रभित्र वन्यजन्तु तस्करी तथा अन्य प्रकृतिका १३ मुद्दा दायर गरिएकोमा १२ ओटाको फैसला भइसकेको बताए । जीवित हरिण घोरल समातेर लगेको मुद्दाको भने फैसला हुन बँकी रहेको उनले बताए । संरक्षण क्षेत्रको संरक्षण गर्ने सम्पूर्ण दायित्व संरक्षण क्षेत्रकै रहेको उनले बताए । संरक्षणक्षेत्र बाहेकको वन तथा वन्यजन्तु सम्बन्धी सबै काम कारवाही जिल्ला वन कार्यालयले हेर्ने कानुनी व्यवस्था छ ।

दोलखा जिल्लाको उत्तरी भेगदेखि दक्षिणी भेगसम्मका वन्यजन्तु तस्कर समातिनुले दोलखा जिल्लामा वन्यजन्तु तस्करहरुको ठूलै सञ्जाल सक्रिय रहेको संरक्षणविदहरुको भनाइ छ । जङ्गली जनावरहरु मारिएरपछि वन्यजन्तु तस्करहरुलाई समातेर कारवाही गर्नुभन्दा वन्यजन्तु नमारिने वातावरण तयार गर्नु आवश्यक रहेको संरक्षणविदहरुले बताए ।