एकता घोषणाका लागि तयारी गर्ने निर्णय

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा मङ्गलबारको संयोजन समितिको बैठकमा प्रस्तुत भएको साङ्गठनिक र वैचारिक कार्यदलका प्रतिवेदनमाथि छलफल प्रारम्भ गर्दै घोषणाको तयारीमा लाग्ने निर्णय गरेको हो ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को आजको पार्टी एकता संयोजन समितिको बैठकले आगामी वैशाख ९ गते एकता घोषणा गर्न प्राप्त सुझावलाई सकारात्मकरुपमा लिँदै त्यसको तयारी गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा मङ्गलबारको संयोजन समितिको बैठकमा प्रस्तुत भएको साङ्गठनिक र वैचारिक कार्यदलका प्रतिवेदनमाथि छलफल प्रारम्भ गर्दै घोषणाको तयारीमा लाग्ने निर्णय गरेको हो ।

समितिका सदस्य केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओली भारत भ्रमणबाट फर्केलगत्तै संयोजन समितिको बैठक गरेर प्रतिवेदन पूर्ण अध्ययन गरी मिलाउन बाँकी विषयमा टुङ्गो लगाइने जानकारी दिए ।

नेता श्रेष्ठले उक्त मितिमा एकता घोषणा गर्ने सुझावलाई सकारात्मकरुपमा लिँदै त्यसका लागि आ–आफ्नो पार्टीमा तयारी गर्ने सहमति भएको पत्रकारलाई जानकारी दिए । एमालेले एकताको तयारीका लागि आउँदो वैशाख ७ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

दुवै कार्यदलले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको दिन आउँदो वैशाख ९ मा एकता गर्न सुझाव दिएका थिए । दुई दलबीच चुनाव चिह्न, जनयुद्ध शब्दावली, पद बाँडफाँडको आधारजस्ता विषय मिलाउन बाँकी छ ।

गत फागुन ७ मा पार्टीको नाम नेकपा कम्युनिष्ट पार्टी र निर्देशक सिद्धान्त माक्र्सवाद लेनिनवाद राख्नेलगायत एकताका सातबुँदे प्रारम्भिक आधारमा दुई दलले एकता प्रक्रिया थालेका हुन् ।