अफ्रिका, क्यारेबियन, प्रशान्त तथा युरोपियन युनियन (एसीपी–ईयू)का सांसदहरुले बुधबार आर्थिक विकास, शान्ति तथा सुरक्षा अभिवृद्धि गर्ने साधनका रुपमा व्यापार उदारीकरणका लागि समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
न्यारोबीमा ११ अप्रिलमा सम्पन्न एउटा संयुक्त सम्मेलनमा सहभागी सांसदले बजार खोल्ने, सीप आदान–प्रदानलाई प्रोत्साहन दिने तथा सबैलाई समृद्धि प्राप्त हुने लगानी अभिवृद्धि गर्ने प्रयासका लागि एकजुट हुने बताएका हुन् । सांसदहरुको फोरममा आफ्नो उद्घाटन सत्रमा केन्याकी अन्तर्राष्ट्रिय व्यापार तथा विदेशमन्त्री मोनिका जुमाले वैश्वीकरणको हृदयमा एकीकरण अभिवृद्धिका लागि राजनीतिक वार्ता महत्त्वपूर्ण हुने धारणा राखिन् । ‘हामी एकीकरणको समर्थन गर्छौं, जसले हाम्रो अर्थव्यवस्थाको संरचनात्मक परिवर्तन छिटो गर्नेछ । हाम्रो एकीकरणको एजेन्डालाई व्यापार, लगानी, शान्ति, सुरक्षा तथा नवीनतम खोजहरुमा ध्यान केन्द्रित गर्नुपर्छ,’ उनले भनिन् ।
अफ्रिका, क्यारेबियन, प्रशान्त तथा युरोपियन युनियनका करिब दर्जन सांसदहरु पारस्परिक हितको ढोका खोल्ने द्विपक्षीय सहयोगका महत्त्वपूर्ण क्षेत्रहरुमा चर्चा गर्न न्यारोबीमा तीनदिने संयुक्त सम्मेलनमा सहभागी भएका हुन् । ‘कृषि, उद्योग तथा स्वास्थ्य, वस्तु तथा सेवा एवम् प्राविधिक क्षेत्रमा स्वतन्त्र व्यापारलाई प्रोत्साहन दिने तथा प्रविधि आदानप्रदानको प्रचार गर्नु निर्वाचित प्रतिनिधिको कर्तव्य हो,’ जुमाले भनिन्, ‘व्यापार सम्बन्ध, शान्ति, ऊर्जा, पर्यावरण व्यवस्थापन, नयाँनयाँ खोज तथा खाद्य सुरक्षाका मुद्दाहरुलाई मजबुत बनाउनु यस सभाको दायित्व हो ।’
अफ्रिकी महाद्वीपीय स्वतन्त्र व्यापार क्षेत्र (एसीएफटीए) स्थापनाको आह्वान गर्दै उनले भनिन्, ‘यसले वैश्विक बजारमा महाद्वीपको मोलमोलाई गर्ने सामथ्र्यलाई प्रोत्साहन गर्नेछ ।’ विश्वका दक्षिण तथा युरोपियन युनियनका सांसदहरुले बहुपक्षीय व्यापार व्यवस्थाको समर्थन गरेका छन्, जुन सबै नागरिकलाई उनीहरुको राष्ट्रियता, सम्प्रदाय तथा रङ जेसुकै भए पनि समृद्धि तथा सुरक्षाको प्रत्याभूति दिन सक्छ ।
एसीपी–ईयू संयुक्त संसदीय सभाका उपराष्ट्रपति युसुफ कोनोले पूर्वाधार विकाससँगै सुदृढ आर्थिक साझेदारीका समझौताहरुले समग्र विकासलाई प्रोत्साहन मिल्ने बताए । ‘क्षेत्रीय संसदीय विधान सभाहरुले बजार पहुँच बढाउन तथा आशाजनक भविष्य भएका ती क्षेत्रहरुमा लगानी बढाउने तरिका स्पष्ट पार्नुपर्छ,’ उनले भने । सिन्ह्वा