अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउस अगाडि विरोधका लागि जम्मा भएका दर्जनाैं प्रदर्शनकारीहरुले सो आक्रमणका विरुद्ध शनिबार हस्ताक्षर सङ्कलन गरेका हुन् ।
अमेरिकी नेतृत्वमा सिरियामा भएको आक्रमणका विरुद्ध अमेरिकामै हस्ताक्षर सङ्कलन गरिएको समाचार छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउस अगाडि विरोधका लागि जम्मा भएका दर्जनाैं प्रदर्शनकारीहरुले सो आक्रमणका विरुद्ध शनिबार हस्ताक्षर सङ्कलन गरेका हुन् ।
अमेरिकाको नेतृत्वमा फ्रान्स र बेलायतसमेतले सिरियामा शनिबार बिहानै आक्रमण सुरु गरेको २४ घण्टा पनि नबित्दै उनीहरुले हस्ताक्षर सङ्कलन सुरु गरेको समाचारमा जनाइएको छ । प्रदर्शनकारीहरुले पहेँलो ब्यानरसहित ‘सिरियालाई मुक्त गर’, ‘सिरियामा अमेरिकाको युद्ध हुँदैन’ ‘सिरियामाथिको बम आक्रमणले मानवलाई फाइदा गर्दैन, यसले उनीहरुलाई मार्छ’, जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए । उनीहरुले युद्धतर्फको बाटो छोडेर शान्तिको मार्ग रोज्न पनि आह्वान गरेका थिए । उनीहरुले विभिन्न सहरहरुमा शृङ्खलाबद्ध रुपले प्रदर्शन गरेका छन् ।
सिरियाले रासायनिक अस्त्र निर्माण गर्ने गरेको भनिएका क्षेत्रहरूमा अमेरिका, बेलायत र फ्रान्सले शनिबार क्षेप्यास्त्र हमला गरेका हुन् । यो हमला अहिलेका लागि पूरा भएको अमेरिकाले बताएको छ । अमेरिकाले सिरियाले पछिल्ला केही समययता रासायनिक हतियारहरुको निर्माण गरी त्यसबाट आक्रमण गर्ने गरेको जनाएको छ । यसबाट हजारौँ नागरिक मारिएको भन्दै त्यसैको विरुद्धमा आक्रमण लक्षित रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका थिए ।
सुरक्षा परिषदको आकस्मिक बैठक
यसैबीच सो आक्रमणको विषयलाई लिएर संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदको आकस्मिक बैठक शनिबार बसेको छ । सो बैठकमा उपस्थित संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुथ्रेसले सिरियाका बारेमा गम्भीर भएर सोच्न आग्रह गरेका थिए ।
उनले सिरियाको वर्तमान अवस्था अत्यन्तै नाजुक रहेकोले यसको समाधान सोही अथवा गम्भीर रुपमा नै सोच्नुपर्नेमा जोड दिए । उनले सिरियाले रासायनिक हतियारहरुले आक्रमण गरेर नागरिक हत्या गर्नु ठूलो भूल हो भन्दै तर त्यसका विरुद्धमा हतियारकै कारबाही पनि राष्ट्रसङ्घले सोचेको विकल्प होइन भने ।
रुसको कडा विरोध
सो बैठकमा रुसले भने उक्त आक्रमणको विरोध गरेको छ । संयुक्त राष्ट्रसङ्घका लागि रुसी राजदूतले सो आक्रमणको विरोध गरेका हुन् ।
उनले सिरियामा बिना सूचना र तीन अाेटा देशको सेनाले एकै पटक हवाई हमला गरेर अन्तर्राष्ट्रिय कानुनको अपव्याख्या र उल्लङ्घन गरेको आरोप लगाएका थिए । यसको प्रतिउत्तरमा अमेरिकी विशेष दूतले भने सिरियाली सरकारले यस्ता घातक आक्रमणहरु गर्दा पनि रुसले विरोधको सट्टा उल्टै सघाएको आरोप लगाएको समाचारमा जनाइएको छ ।
सिरियाद्वारा निन्दा
यसैबीच उक्त हमलाको सिरियाले निन्दा गरेको अर्काे एक समाचारमा जनाइएको छ । संयुक्त राष्ट्रसङ्घका लागि सिरियाली राजदूत बसर जा अफारीले अमेरिकी नेतृत्वको सो हमलाको निन्दा गरेका हुन् ।
अमेरिकी नेतृत्वका ती देशले गरेको सो हमला अन्तर्राष्ट्रिय मूल्य मान्यता र कानुन विपरीत भएको भन्दै राजदूत अफारीले पहिलेको दोस्रो विश्वयुद्धपछिको शीतयुद्धकालीन अवस्था पुनः फर्किएको धारणा पनि राखे ।
उनले यस्तो हमलाले सिरियामाथि ठूलो अन्याय भएको भन्दै तुरुन्त यस्ता सिरियामाथि धावा बोल्ने कार्य रोक्न लगाउन विश्व समुदायसमक्ष आग्रह गरेकाे पनि समाचारमा जनाइएको छ । रासस/सिन्ह्वा