लमजुङमा ११ अर्ब रूपैयाँकाे वन लगानी परियोजना सञ्चालन हुने

फरकफरक विधामा पाँच कार्यक्रम रहेको सो परियोजना लमजुङमा पनि सञ्चालन हुन लागेको वन तथा वातावरण मन्त्रालयले जनाएको हो ।

विश्व बैङ्कको सहयोगमा हुन लागेको वन लगानी कार्यक्रम लमजुङमा पनि सुरु हुने भएको छ । करिब ११ अर्ब रूपैयाँ लागत रहने वन लगानी परियोजनासँगै ‘समर्पित अनुदान संयन्त्र’ अन्तर्गत नेपालका आदिवासी जनजाति तथा वनमा आश्रित स्थानीय समुदायको क्षमता अभिवृद्धिका लागि थप करिब ५० करोड रूपैयाँ सहयोग गर्ने बताइएको छ ।

फरकफरक विधामा पाँच कार्यक्रम रहेको सो परियोजना लमजुङमा पनि सञ्चालन हुन लागेको वन तथा वातावरण मन्त्रालयले जनाएको हो । सामुदायिक तथा समुदायमा आधारित वनको दिगो व्यवस्थापन, वनमा आधारित अर्थतन्त्रको विकास, निजी वनको विकास, समुदाय र प्रकृतिमा आधारित पर्यटन र उन्नत प्रविधिसहितको जलाधार व्यवस्थापन शीर्षकका पाँचअाेटा परियोजना वन लगानी कार्यक्रममार्फत हुने बताइएको छ ।

परियोजनाबाट वनमा व्यापक लगानी गरी रोजगारी सिर्जना गर्ने र छिट्टै प्रतिफल लिन सकिने विश्वास गरिएको वन तथा वातावरण मन्त्रालयका सहसचिव सिन्धुप्रसाद ढुङ्गानाले बताए ।

परियोजनाबाट आउँदो आठ वर्षमा करिब दुई लाख हेक्टर समुदायमा आधारित वनको दिगो व्यवस्थापन, १० हजार हेक्टर बिग्रिएका डाँडापाखाको स्थानीय समुदायमार्फत उन्नत प्रविधियुक्त भू–संरक्षण, १० हजार हेक्टर निजी जग्गामा छोटो समयमा फाइदा दिने रुख प्रजातिको वृक्षरोपण गर्न अनुदान, वनमा आधारित उद्यम विकासमा लगानी गर्न निजी क्षेत्रलाई सहुलियत दरको ऋण सहायताजस्ता गतिविधि समेटेको छ । रासस