नेपाल र बुल्गेरियाबीचको कुटनीतिक सम्बन्ध ५० बर्षमा

नेपाल र बुल्गेरिया बीचको कुटनीतिक सम्बन्ध स्थापनाकोे ५० औं वर्ष पुगेको उपलक्ष्यमा काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गरिएको छ ।

आइतवार साँझ होटल साँग्रिलामा एक कार्यक्रमको आयोजना गरि नेपाल र बुल्गेरियाबीचको कुटनीतिक सम्बन्धको विषयमा चर्चासमेत गरियो । कार्यक्रममा नेपालका स्थापित व्यवसायी, कुटनीतिज्ञ, सरकारी अधिकारीहरुको उपस्थिती रहेको थियो ।

नेपाल र बुल्गेरिया बीच सन् १९६८ अप्रिल १५ मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

कार्यक्रममा नेपाल र भारतका लागि बुल्गेरियाका राजदुत पेट्को डोयकोभले दुइ देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताए । ‘५० बर्ष थोरै समय होइन हामी दुइ देशले एकअर्काेलाई धेरै गर्न सक्छौं,’ उनले भने । दुई देश बीचको सम्बन्ध विशोष सौहार्द र उल्लेखनिय रहेको बताउँदै उनले दुइ देशको हितका लागि सहयोग आदानप्रदान हुनुपर्ने बताए ।

नेपालका लागि बुल्गेरियाका अवैतनिक बाणिज्यदुत भोलाविक्रम थापाले दुइ देशविचको सम्बन्धलाई अगाडी लैजाँदै व्यापार र पर्यटनमा पनि सँगसँगै हुनुपर्ने बताए । ‘दुई देशको व्यापारमा र पर्यटनमा सरकारीस्तरबाट थप टेवा पुग्ने काम हुनुपर्छ,’ उनले भने । ५० औं बर्षको सम्बन्धलाई अझ प्रगाढ बनाउन दुइ देशको निकटता बढाउनका लागि पर्यटनले पनि सहयोग पुराउने उनले बताए ।