भ्रष्टाचार र एकाधिकारविरुद्ध सरकार कठोर : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचार र एकाधिकारविरुद्ध सरकारले कठोर कदम चाल्न शुरु गरेको बताएका छन् ।

पूर्वी चितवनको कालिका नगरपालिकास्थित जुटपानीमा प्रहरी कार्यालयको भवन शिलान्यास गर्दै थापाले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले भने “भ्रष्टाचारलाई निर्मूल पार्नका निम्ति हामी कठोर कदम चाल्दैछौँ, अपराध, कुनै प्रकारको एकाधिकार र सिण्डिकेटको विरुद्ध सरकार कडा रुपमा लाग्नेछ ।”

यातायात व्यवसायीको सिण्डिकेटविरुद्धको अभियान शुरु भइसकेको भन्दै उनले अरु सिण्डिकेटविरुद्ध पनि सरकार अघि बढ्ने उनकाे भनाइ थियो । चितवनका विभिन्न आधा दर्जन कार्यक्रममा सहभागी भएका उनले भएको उक्त शिलान्यास कार्यक्रममा बोल्दै सबैले प्रतिस्पर्धा गर्ने अवसर पाउनुपर्ने धारणा राखे ।

मुठ्ठिभरका मान्छेमात्र समृद्ध हुने अरु चाहीँ दरिद्र हुने अवस्थाको अन्त्य गर्न चाहेको पनि उनले बताए । गृहमन्त्री थापाले छुट्टै किसिमको सुरक्षा नीति बनाउन लागेको समेत जानकारी दिए । उनले शान्ति सुरक्षामा मन्त्रालयले कुनै कसर बाँकी नराख्ने समेत बताए ।

उनले गृहमन्त्रालयले गुनासो सुन्ने व्यवस्था मिलाउन लागेको समेत बताउँदै सुरक्षा निकायलाई शान्ति सुरक्षामा चुस्त भएर काम गर्न निर्देशन पनि दिए ।  (रासस)