महाशाखाले ट्याक्सी मिटरमा हिँड्न नमानेको व्यापक जनगुनासो कार्यालयमा आएपछि अनुगमनलाई तीव्रता दिएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा मिटरमा हिँड्न नमान्ने ट्याक्सी कारबाहीलाई तीव्रता दिएको छ ।
महाशाखाले ट्याक्सी मिटरमा हिँड्न नमानेको व्यापक जनगुनासो कार्यालयमा आएपछि अनुगमनलाई तीव्रता दिएको हो । महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले मिटरमा हिँड्न नमान्ने दैनिक ५० देखि ७० ट्याक्सीलाई कारबाही गर्ने गरिएको बताए । ‘पहिले दैनिक १५/२० ट्याक्सी कारबाहीमा पर्थे, अहिले कारबाही बढेको छ,’ – उनले भने । उनले ट्याक्सी मिटरमा हिँड्न नमाने हटलाइन १०३ मा खबर गर्नसमेत आग्रह गरेका छन् ।
मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई महाशाखाले तीन हजारदेखि पाँच हजार रूपैयाँसम्म जरिवानासमेत गर्ने गरेको छ । सहप्रवक्ता मरासिनीले मिटरमा हिँड्न नमान्ने ट्याक्सी अनुगमनका लागि दैनिक ३० जनाको जनशक्ति परिचालन गरिएको स्पष्ट पारे ।
महाशाखाले चालू आर्थिक वर्षमा मिटरमा हिँड्न नमान्ने झन्डै चार हजार ट्याक्सीलाई कारबाही गरिसकेको छ । रासस