अर्बपति विनोद चौधरी देश दौडाहमा

२०४८ सालमा नेपाली कांग्रेसले लिएको आर्थिक उदारीकरणको नीतिले २०५१ सालसम्मको अवधिमा नेपालमा उल्लेख्य ढंगले विकास भएको उदाहरण प्रस्तुत गर्दै कांग्रेसले आफूलाई राजनीतिमा सफल प्रमाणित गरिसकेको उनले दाबी गरे । त्यसपछिको अवधिमा भएको सरकार परिवर्तन र राजनीतिक अस्थिरताका बाबजुद पनि आर्थिक एवं सामाजिक क्षेत्रमा नेपालले गर्दै गएको सुधार कांग्रेसले लिएको सोही नीतिको परिणाम भएको चौधरीले बताए ।

चुनावी मिति नजिकिँदै गर्दा उद्योगपति विनोद चौधरीको व्यस्तता निकै बढेको छ । चौधरी आइतबार एकै दिन परासीको बुद्धचोक तथा नवलपुरको कावासोतीमा आयोजित कार्यक्रममा सहभागी भए भने नवलपुरकै दलदलेमा घरदैलो अभियानमा पनि जुटे । कांग्रेस महामन्त्री एवं प्रतिनिधिसभाका लागि त्यस क्षेत्रका उम्मेद्वार डा. सशांक कोइरालासँगै उनी घरदैलो अभियानमा सहभागी भएका हुन् ।
निर्वाचनको मौन अवधिमा चुनाव प्रचारमा सहभागी हुन नपाइने भएकाले भ्याइ–नभ्याइ गरी कार्यक्रममा सहभागी हुनु परेको चौधरीले बताए । धेरै स्थानमा पुग्न मन भएपनि समय पावन्दीले सम्भव नभएको चौधरीले बताए ।

परासीमा आयोजित कार्यक्रममा बोल्दै उनले आर्थिक समृद्धि र विकासको अभियानमा नेपाली कांग्रेस अगाडि बढिसकेको भन्दै आफ्नो अमूल्य मत दिएर जिताउन मतदातालाई आग्रह गरे । आर्थिक समृद्धिको सपना लोकतन्त्रमा मात्र साकार पार्न सकिने र त्यसको नेतृत्व नेपाली कांग्रेसले मात्र गर्ने उनले बताए । २०४८ सालमा नेपाली कांग्रेसले लिएको आर्थिक उदारीकरणको नीतिले २०५१ सालसम्मको अवधिमा नेपालमा उल्लेख्य ढंगले विकास भएको उदाहरण प्रस्तुत गर्दै कांग्रेसले आफूलाई राजनीतिमा सफल प्रमाणित गरिसकेको उनले दाबी गरे । त्यसपछिको अवधिमा भएको सरकार परिवर्तन र राजनीतिक अस्थिरताका बाबजुद पनि आर्थिक एवं सामाजिक क्षेत्रमा नेपालले गर्दै गएको सुधार कांग्रेसले लिएको सोही नीतिको परिणाम भएको चौधरीले बताए ।

कावासोतीमा आयोजित कार्यक्रममा उनले नेपाली कांग्रेसले हालै सार्वजनिक गरेको सामाजिक र आर्थिक विकासको मार्गचित्रले भविष्यको समृद्ध नेपालको खाका कोरेको भन्दै यसको सफल कार्यान्वयनका लागि कांग्रेसको विकल्प खोज्न नहुने दाबी गरे । चौधरी संयोजक रहेको नेपाली कांग्रेसको आर्थिक समृद्धि विकास समन्वय उपसमितिले सामाजिक एवं आर्थिक मार्गचित्र तयार गरी सार्वजनिक गरिसकेको छ । सोमबार उनी रुपन्देही, तनहुँ र सुनसरीका विभिन्न स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न जाने कार्यक्रम छ ।