पार्टी एकता घोषणा हुन मात्रै बाँकी : मन्त्री थापा

माओवादी केन्द्र र एमालेका सबै नेताको व्यवस्थापन गर्ने विषय पनि अन्तरिम विधानमार्फत टुंगो लागेको र केन्द्र, प्रदेश र जिल्लामा दुई पदीय नेतृत्व रहने छ भन्दै गृहमन्त्री थापाले कोही कसैका कारण दुई पार्टीको एकतामा असर नपर्ने उल्लेख गरे ।

गृहमन्त्री रामबहादुर थापाले दुई पार्टी एकताको सबै विषय टुंगिएकाले घोषणा हुनमात्रै बाँकी रहेको बताएका छन् ।

चितवनमा सोमबार पत्रकारहरुसँगको कुराकानीमा उनले टुंगिन बाँकी रहेका राजनीतिक, वैचारिक र संगठनात्मक आधारहरु पनि तय भइसकेको प्रतिक्रिया दिए ।

संयोजन समितिले मिति तोक्न मात्रै बाँकी रहेको छ भन्दै गृहमन्त्री थापाले सामान्य प्राविधिक कारण ऐतिहासिक दिन वैशाख ९ गते एकता घोषणा हुन नसकेको प्रस्ट्याए । ‘जनयुद्धको भूमिकालाई संश्लेषण गर्ने र संगठनात्मक विषयमा नेतृत्वको संरचना कस्तो हुने भन्ने विषय पनि टुंगिइसकेको छ,’ उनले भने, ‘बाँकी टुङ्ग्याउनुपर्ने विषय छैन । छिट्टै नै एकताको घोषणा हुन्छ ।’

माओवादी केन्द्र र एमालेका सबै नेताको व्यवस्थापन गर्ने विषय पनि अन्तरिम विधानमार्फत टुंगो लागेको र केन्द्र, प्रदेश र जिल्लामा दुई पदीय नेतृत्व रहने छ भन्दै गृहमन्त्री थापाले कोही कसैका कारण दुई पार्टीको एकतामा असर नपर्ने उल्लेख गरे ।

अर्को एक प्रश्नमा मन्त्री थापाले प्रहरीको संरचना संघीय र प्रादेशिक हुने र त्यसका लागि मन्त्रिपरिषद्ले निर्देश गरिसकेको बताए ।