बीस महिनाअघि स्वदेश फर्केका उनी अहिले टेम्पो चलाउन व्यस्त छन् । झापाका ग्रामीण क्षेत्रदेखि सहरका गल्ली गल्लीमा उनी टेम्पो गुडाउँछन् । टेम्पो चलाएरै उनले विदेशको भन्दा राम्रो कमाइ गरिरहेका छन् ।
वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा झन्डै आठ वर्ष र कतारमा नौ वर्ष बसेर स्वदेश फर्केका अर्जुनधारा नगरपालिका– ७ का अम्बिकाप्रसाद घिमिरेको जीवनमा ठूलै उतारचढाब आएको छ । विदेशमा रहँँदा अर्काको मजदुरी गरेर जवानी बिताएका उनी अब स्वदेशमै रहेर सफल व्यवसायी बनेका छन् ।
बीस महिनाअघि स्वदेश फर्केका उनी अहिले टेम्पो चलाउन व्यस्त छन् । झापाका ग्रामीण क्षेत्रदेखि सहरका गल्ली गल्लीमा उनी टेम्पो गुडाउँछन् । टेम्पो चलाएरै उनले विदेशको भन्दा राम्रो कमाइ गरिरहेका छन् । पहिले नै यो काम थालेको भए त्यतिका वर्ष विदेशमा पसिना बगाउनु पर्ने थिएन कि भन्ने पछुतो पनि उनलाई लाग्ने गर्दछ ।
पुनः विदेश फर्किने सोचका साथ छुट्टीमा घर आएका घिमिरेले एकाएक गाउँघरमै बसेर कुनै व्यवसाय गर्ने उत्साह बढेर गयो । पहिले त के व्यवसाय गर्ने भन्ने निर्णय गर्न गाह्रो भयो तर पछि टेम्पो किनेर चलाउने निधो गरे । सुरुमा एउटा टेम्पो किने । सोही टेम्पोको कमाइले चार महिनाअघि पुनः अर्काे टेम्पो किन्न सफल भए । दैनिक दुई हजारभन्दा माथि कमाइ हुन थालेपछि उनको विदेशप्रतिको मोह टरेर गयो ।
घरमै बसिबसी मासिक ५० हजारभन्दा माथि कमाइ गर्न थालेपछि १७ वर्ष विदेशमा श्रम र पसिना बगाएका नेपाल नेपाल फर्केका उनलाई अहिले नेपाल स्वर्ग झैँ लाग्न थालेको छ । बिहान आठ नबज्दै टेम्पो लिएर निस्केका उनी बेलुका कम्तीमा पनि दुई हजार रुपैयाँ लिएर अाउँछन् । खर्च कटाएर मासिक ५० हजार रूपैयाँभन्दा माथि कमाई गर्न थालेपछि घिमिरे यतिबेला दङ्ग मात्र हाेइन, भविष्यमा यसलाई अझ बढाउँदै लैजाने योजना बुन्न थालेका छन् ।
घिमिरेकी श्रीमती रञ्जनाका दुवै मृगौला खराब छन् । १५ महिनादेखि उनकी श्रीमती बिरामी परेपछि श्रीमतीको औषधि उपचारका लागि उनले १० लाख रुपैयाँ खर्च गरिसकेका छन् । त्यति ठूलो खर्च गर्नसक्ने औकात उनलाई टेम्पोकै कमाइबाट सम्भव भएको हो । ‘‘यति व्यवसाय नगरेको भए त आज साहूसँग चर्को ब्याजमा ऋण लिनुपर्ने वाध्यता हुने थियो’’ उनी भन्छन् ।
घिमिरेले श्रीमतीको उपचार अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिरहेका छन् । उनले १० वर्षीया छोरीलाई निजी विद्यालयमा भर्ना गराएका छन् । छोरीको अध्ययनका लागि आवश्यक पर्ने खर्च समेत टेम्पोबाटै जुटाएका छन् । मृगौला खराबीका कारण विरामी श्रीमतीको रेखदेसँगै घरमै बसेर टेम्पो चलाएको भरमा मनग्य आम्दानी गर्न थालेपछि उनलाई घर खर्च टार्न कुनै समस्या छैन ।
स्वदेशमा रोजगारी पाइएन भनेर विदेसिने युवाको सङ्ख्या दिन प्रतिदिन बढिरहेको अवस्थामा अर्जुनधाराका पौडेल प्रतिनिधि पात्र मात्रै हुन् । उनीजस्ता धेरैले अहिले यही टेम्पो कुदाएरै जीवन निर्वाह गरिरहेका छन् भने भाडामा टेम्पो चलाउँदै आएका कतिपयले आफैँ टेम्पो किनेर मनग्य आम्दानी गरिरहेका छन् ।
झापाका सडकमा अहिले झन्डै तीन हजारभन्दा बढी टेम्पो गुड्ने गरेका छन् । पछिल्लो समय हलुका सवारीका रुपमा लोकप्रिय बनेको तीन पाङ्ग्रे टेम्पो धेरैको यातायातको साधन बनेको छ । सुरेन्द्र भण्डारी, रासस