नेविसंघले आज पत्रकार सम्मेलन गरी विधानविपरीत विश्व विद्यालय समिति, जिल्ला समिति, क्याम्पस एकाइ समिति, विदेशस्थित सम्पर्क समिति गठन गरेको भन्दै निर्णय खारेज गर्न माग गरेको हो ।
नेपाल विद्यार्थी सङ्घले केन्द्रीय समितिको बैठक बिना नेतृत्वले आमन्त्रित केन्द्रीय सदस्य र विभिन्न क्याम्पसमा जिम्मेवारी दिएको भन्दै उक्त निर्णय खारेज गर्न माग गरेको छ ।
नेविसङ्घले आज पत्रकार सम्मेलन गरी विधानविपरीत विश्व विद्यालय समिति, जिल्ला समिति, क्याम्पस एकाइ समिति, विदेशस्थित सम्पर्क समिति गठन गरेको भन्दै निर्णय खारेज गर्न माग गरेको हो ।
पत्रकार सम्मेलनमा नेविसङ्घका नेता मनोजमणि आचार्यले नेविसङ्घजस्तो ऐतिहासिक सङ्गठनलाई तानाशाही शैलीमा अगाडि बढाएको भन्दै उक्त कदम आफूलाई मान्य नहुने बताए । उनले ‘बलियो काँग्रेस निर्माणका लागि सशक्त नेविसङ्घ’ बनाउनुपर्ने भन्दै उक्त कार्य वर्तमान नेतृत्वबाट हुन नसकेको उल्लेख गरे ।
नेविसङ्घ उपाध्यक्ष उर्मिला थपलियाले महाधिवेशन सुनिश्चितताका लागि तत्काल विधान सम्मेलन राखी मिति तोक्नुपर्ने बताइन् । ‘महाधिवेशन हुन चार महिना बाँकी रहँदा अध्यक्षको यो कार्यशैलीले निर्वाचन हुन सक्दैन,’ – उनले भनिन् ।
नेविसङ्घका नेता दीपक भट्टराई महाधिवेशनको सुनिश्चितताका लागि विधान विपरीत गरिएका सबै नियुक्ति खारेज हुनुपर्ने बताए । चिठी लेखेर गरिएका नियुक्तिले नेविसङ्घ द्वन्द्वमा फसेको उनको भनाइ थियो ।
नेविसङ्घको ११ औँ महाधिवेशन भएको तीन महिनाभित्र विवादित जिल्लाको विवाद समाधान गर्ने भनिए पनि २० महिना पुग्दासम्म नभएको उपाध्यक्ष नवीन राईले बताए ।
अध्यक्ष नैनसिंह महरले सङ्गठन विधान विपरीत सञ्चालन गरेको भन्दै उपाध्यक्ष नवीन राई, उर्मिला थपलिया, खड्गबहादुर डाँगी, प्रकाश राना र सागर परियारले असन्तुष्टी जनाउँदै सोमबार काँग्रेस पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण समेत गराएका छन् ।