याेजना आयोग उपाध्यक्षमा कँडेल

आयोगको सदस्यमा कृष्णप्रसाद ओली, उषा झा, दिलबहादुर गुरुङ र रामकुमार फुयाँल नियुक्त भएका छन् ।

स्वर्णिम वाग्लेले राजीनामा दिएपछि लामो समयदेखि रिक्त राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रा.डा. पुष्पराज कँडेल नियुक्त भएका छन् । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षमा कँडेललाई नियुक्त गर्ने निर्णय गरेको हो । यसैगरी आयोगको सदस्यमा कृष्णप्रसाद ओली, उषा झा, दिलबहादुर गुरुङ र रामकुमार फुयाँल नियुक्त भएका छन् ।

काे हुन् कँडेल ? 

टुरिजम डेभलपमेन्ट बैङ्कको सञ्चालक समिति अध्यक्षसमेत रहेका कँडेल एमालेभित्र ‘लो प्रोफाइल’मा रहेर हाइप्रोफाइल पदमा पुगेका व्यक्ति हुन् । उनी एमाले स्थायी कमिटीका पदेन सदस्य हुन् । प्रधानमन्त्री केपी शर्मा ओली समूहका ‘थिङ्क ट्याङ्क’ सदस्य कँडेल २०२६ सालदेखि झापाली क्रान्तिकारी समूहसँग निकटताबाट कम्युनिस्ट राजनीतिमा लागेका हुन् । कँडेल एमालेमा कुनै पनि अवसर नलिएका नेताका रुपमा चिनिन्छन् ।

दिल्ली स्कुल अफ इकोनोमिक्सबाट ‘कर्पाेरेट ट्याक्सेसन एन्ड इन्भेस्टमेन्ट बिहेबियर इन नेपाल’ विषयमा विद्यावारिधि गरेका कँडेल एमालेको २०४९ मा सम्पन्न पाँचौँ महाधिवेशनबाट केन्द्रीय लेखापरीक्षण कमिटीको सदस्य निर्वाचित भएका थिए । त्यसपछि उनी लगातार १० वर्षदेखि लेखापरीक्षण आयोगका अध्यक्ष छन् । उनले ५ कार्यकाल लेखा आयोगमै बिताएका छन् ।

२०१२ भदौ १५ मा धादिङ जिल्ला बेनीघाट १, रिचोकटारमा जन्मिएका कँडेल २०५१ मा एमाले सरकारमा रहँदा ३ महिना राष्ट्रिय वाणिज्य बैङ्कको सञ्चालक समिति सदस्य र २०६३ मा नेपाल बैङ्कको सञ्चालक समिति सदस्यका रुपमा काम गरेका छन् । हाल उनी टुरिजम डेभलपमेन्ट बैङ्कको सञ्चालक समिति अध्यक्ष छन् ।

त्रिभुवन विश्वविद्यालयमा ३२ वर्ष प्राध्यापन गराएका उनी सङ्घीयता र विकेन्द्रीकरणले मुलुकलाई हित गर्दैन भन्ने पक्षधरका नेता हुन् । धादिङ जिल्ला कमिटीले प्रतिनिधिसभाको समानुपातिक सांसदका लागि सिफारिस गर ेपनि सांसद सिफारिसमा भने परेनन् ।

यसैबीच मन्त्रिपरिषद् बैठकले विश्व बैंकको ६ अर्ब ८६ करोड ऋण स्वीकृत गरेको छ। कैलालीको रानी–जमरा–कुलरिया सिँचाइ आयोजना निमार्णका लागि साे ऋण स्वीकृत गरेको हो।