no-image

यो सँगै कम्पनीसँग ११ ओटा जहाज हुनेछन्, जसमा ७२ सिट क्षमताका ६ ओटा एटीआर ७२–५००, ४२ सिट क्षमताका ३ ओटा एटीआर ४२–३२० र १८ सिट क्षमताका २ ओटा बिचक्राफ्ट १९०० डी छन् ।

बुद्ध एयरले ७२ सिट क्षमता भएको अर्को जहाज ल्याउने भएको छ । एटीआर–७२ जहाज नेपालमा आगामी जुन महिनाको दोस्रो सात आइपुग्ने छ । यो सँगै कम्पनीसँग ११ ओटा जहाज हुनेछन्, जसमा ७२ सिट क्षमताका ६ ओटा एटीआर ७२–५००, ४२ सिट क्षमताका ३ ओटा एटीआर ४२–३२० र १८ सिट क्षमताका २ ओटा बिचक्राफ्ट १९०० डी छन् ।

जहाजका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक अनुमति प्राप्त भइसकेको कम्पनीले एक विज्ञप्तिमार्फत् बताएको छ । नयाँ जहाजको कलसाइन नाइनएन–एएमयू हुनेछ । एटीआरका अन्य विमानजस्तै यसमा पनि फराकिला सिट र लगेजका लागि पर्याप्त ठाउँ उपलब्ध हुनेछ । वातावरणीय तथा ध्वनि प्रदूषणको हिसाबले एटीआर जहाज निकै राम्रो मानिन्छ ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिनानुदिन बढ्दो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एयरट्राफिकका कारण विशेषतः घरेलु उडानहरुलाई समयमै उडान भर्न अप्ठयारो परिरहेको छ । यसबाट यात्रुसहित विमान कम्पनीलाई पनि निकै समस्या परेको छ । उडान ढिला हुनुमा अर्को मुख्य कारण खराब मौसम पनि हो । नयाँ जहाज आइसकेपछि अन्य विमानहरूको नियमित मर्मतसम्भार तथा उडानहरू परिचालन गर्न निकै सहज हुने कम्पनीले जनाएको छ ।