यही वैशाख १५ गतेदेखि आयोजना गरिने तीनदिने महोत्सवबाट विहावर क्षेत्रको पर्यटनको विकासमा टेवा पुग्ने महोत्सव संयोजक क्याप्टेन रामेश्वर थापाले जानकारी दिए ।
काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकास्थित कुशादेवी क्षेत्रमा पर्यटन महोत्सव हुने भएको छ । विहावर क्षेत्रको प्रचार गर्ने उद्देश्यले कुशादेवी क्षेत्र सरोकार समाजले महोत्सव आयोजना गर्न लागेको हो ।
यही वैशाख १५ गतेदेखि आयोजना गरिने तीनदिने महोत्सवबाट विहावर क्षेत्रको पर्यटनको विकासमा टेवा पुग्ने महोत्सव संयोजक क्याप्टेन रामेश्वर थापाले जानकारी दिए । प्राकृतिक रुपमा विहावर क्षेत्र निकै नै धनी भएको उनले बताए ।
विहावरको फुल्चोकी क्षेत्र समुन्द्री सतहबाट दुई हजार ७ सय किलोमिटरमा उचाइमा अवस्थित छ । उक्त क्षेत्रको फुल्चोकी डाँडाबाट सर्वाेच्च शिखर सगरमाथा, कञ्चनजङ्घा, गौरीशङ्कर, गणेश, माछापुच्छ्रे लगायतका हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । साथै त्यहाँ २ सय ८० प्रजातिका चराचुरुङ्गी का साथै विभिन्न प्रजातिका पुतली पाइन्छन् । जैविक विविधताले भरपुर उक्त क्षेत्रमा चितुवा, बँदेल, मृग, सालक, दुम्सी, वनबिरालो, मलसाप्रो, चरिबाघ, काठेभालु लगायतका बन्यजन्तुसमेत पाइने गर्दछन् ।
विहावर क्षेत्रको प्रमुख विशेषतामा यहाँ अर्गानिक तरकारी तथा दुग्धजन्य पदार्थ उत्पादन, जडीबुटीको प्रयोग, स्थानीय घरेलु उत्पादन प्रमुख छन् । विहावर क्षेत्र तापक्रमको हिसाबले पनि एकनासको छ । भौगोलिक क्षेत्र राम्रो भए पनि समुदाय निकै नै पिछडिएको अवस्थामा छ । यो वर्ष महोत्सवको सुरुआत भए पनि आगामी वर्ष पनि यसलाई निरन्तरता दिइने कुशादेवी सरोकार समाजका अध्यक्ष पुरुषोत्तम अधिकारीले बताए । महोत्सवको नामबाट नै पछि संस्थाको गठन गरिने उनले जानकारी दिए ।
“विहावर नाम ऐतिहासिक भएका कारण पनि महोत्सवको नाम विहावर पर्यटन महोत्सव राखिएको हो,” कुशादेवी सरोकार समाजका अध्यक्ष पुरुषेत्तम सापकोटाले भने । विहावर क्षेत्रको पर्यटनको विकासका लागि सरकारको आँखा नपरेकाले उक्त क्षेत्रको पर्यटनको विकासका लागि महोत्सवको आयोजना गर्न लागिएको पनि उनले बताए । पैसा कमाउनु मात्र महोत्सवको उद्देश्य नरहेको, उक्त क्षेत्रको प्रचार नै मुख्य रहेको आयोजक समितिले जनाएको छ ।
महोत्सवमा स्थानीय क्षेत्रमा उत्पादित खानालगायत उत्पादित कृृषि उपजलाई प्राथमिकता दिइनेछ । तीन दिनसम्म चल्ने महोत्सवमा दौड, प्याराग्लाइडिङ र साइक्लिङ मुख्य आकर्षण रहनेछन् साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कलाकारलाई पनि सहभागी गराइनेछ । आज पत्रकार सम्मेलन गरी सरोकार समाजले महोत्सवबारे जानकारी दिएको थियो । रासस