जथाभावी फोहर फाल्ने ९१ जनालाई कारबाही

कामपाको गाडी फोहर लिन आउँदा फोहर नफ्याँक्ने अन्य समयमा जथाभावी फाल्ने र कामपाले तोकिएको स्थानमा फोहर नथुपार्ने ९१ जना कारबाहीमा परेका हुन् ।

काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा जथाभावी फोहर फाल्ने ९१ जनालाई कारबाही गरेको छ । कामपाको गाडी फोहर लिन आउँदा फोहर नफ्याँक्ने अन्य समयमा जथाभावी फाल्ने र कामपाले तोकिएको स्थानमा फोहर नथुपार्ने ९१ जना कारबाहीमा परेका हुन् ।

विशेषगरी पुतलीसडक, बागबजार, न्यूरोड, जमल क्षेत्रमा रातिको समयमा बढी मात्रामा फोहर फाल्ने कारबाहीमा परेको कामपाका नगर प्रहरी निरीक्षक मीनबहादुर थापाले जानकारी दिए । विभागले जथाभावी फोहर फाल्नेबाट न्यूनतम पाँच सयदेखि एक लाखसम्म जरिवाना गर्दै आएको छ । त्यसरी फोहर फाल्नेमा संस्थाभन्दा बढी व्यक्ति छन् । हरेक दिन कामनपाले काठमाडौँ उपत्यकाको ८ सय मेट्रिक टन फोहर व्यवस्थापन गर्दै आएको छ ।

त्यसैगरी, चालू आवको चैतसम्ममा नै कामपाले एक हजार ६ सय टन धुलो व्यवस्थापन गरेको छ । अघिल्लो वैशाखमा जनप्रतिनिधि आएसँगै सुरु गरेको ‘क्लिन द सिटी’ अभियानअन्तर्गत उक्त परिमाणमा धुलोको व्यवस्थापन गरेको हो । सङ्कलित सबै धुलो विष्णुमति किनारामा राखिएको छ । कामपाको भवन रहेको बागदरबार वरपर, लैनचौर, रत्नपार्क, जमल, पुरानो बसपार्क, पुतलीसडक चोक र त्रिचन्द्र कलेज आसपास र भद्रकालीबाट धुलो सङ्कलन गरिएको हो ।

कामपाको यो अभियान निरन्तर रहनेछ । त्यसैगरी, कामपाले सडकमा अव्यवस्थित रुपमा छरिएर रहेका करिब ५५ गाडी तारको पनि व्यवस्थापन गरेको छ । कामपाले गत मंसिरको पहिलो सातादेखि तार व्यवस्थापनको कार्य सुरु गरेको हो । सङ्कलित तार सबैभन्दा बढी इन्टरनेट, केबल सेवा प्रदायकका तार र टेलिफोनका हुन् । ती तार तत्कालका लागि टेकुमा राखिएको छ । रासस