बैतडीमा घुम्ती शिविरबाट नागरिकता वितरण

शिविरमार्फत ९ सय ७१ जना नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । अाठ सयभन्दा बढीले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् भने ८० भन्दा बढी अपाङ्गता परिचयपत्र वितरण गरिएको बताइएको छ ।

बैतडीको दुर्गम तल्लोस्वराडमा विगत चार दिनदेखि जारी घुम्ती शिविरबाट विभिन्न परिचयपत्र वितरण गरिएकाे छ । शिविरमार्फत ९ सय ७१ जना नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । अाठ सयभन्दा बढीले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् भने ८० भन्दा बढी अपाङ्गता परिचयपत्र वितरण गरिएको बताइएको छ ।

वैशाख १५ गतेदेखि जारी एकीकृत घुम्ती शिविर मङ्गलबार सम्पन्न भएको हो । पञ्चेश्वर र शिवनाथमा सम्पन्न उक्त निःशुल्क घुम्ती शिविरबाट तल्लोस्वराडका दुई हजारभन्दा बढी सर्वसाधारण प्रत्यक्षरुपमा लाभान्वित भएका सहायक प्रमुख जिल्ला अधिकारी दीपककुमार आचार्यले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय बैतडीको समन्वयमा शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाको सहयोगमा शिविर सम्पन्न भएको हो । शिविरमा ८५ वर्षसम्मका वृद्ध नागरिकले समेत नागरिकताको प्रमाणपत्र प्राप्त गरेका थिए । विभिन्न कारणले सदरमुकामसम्म पुग्न नसक्ने नागरिकका लागि शिविरको आयोजना गरिएको हो ।

दुर्गम तल्लोस्वराडमा शिविर सञ्चालनमा आएपछि त्यहाँका नागरिक खुसी भएका थिए । सम्पूर्ण सरकारी सेवा शिविरमार्फत घरदैलोमा उपलब्ध भएपछि स्थानीय नागरिक खुसी भएका शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिए । शिविरमा नेपाली नागरिकताको प्रमाणपत्र, फोटोसहितको मतदाता नामावली सङ्कलन, अपाङ्गता परिचयपत्रलगायतका सेवा प्रदान गरिएका थिए । रासस