लिखित सम्झौता नभएसम्म सरकारमा जाँदैनौंः अध्यक्ष यादव

अध्यक्ष यादवले संविधानमा समाजवाद उल्लेख गरेपनि गरिब, अशिक्षा र बेरोजगारको अन्त्य नगरेसम्म समाजवादको कल्पना गर्न नसकिने बताए ।

राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियन महासङ्घ स्वतन्त्र र समाजवादी ट्रेड युनियन महासङ्घ नेपालबीच आज एकता भएको छ ।

सङ्घीय समाजवादी फोरमका भातृसङ्गठन समाजवादी ट्रेड युनियन र स्वतन्त्र रहेको राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियनबीच श्रमिक दिवसको दिन एकताभई समाजवादी लोकतान्त्रिक ट्रेड युनियन महासङ्घ बनेको हो ।

सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले एकता भएको घोषण गर्दै श्रमिक हकहित र संरक्षणका लागि सङ्घर्षरत दुई सङ्गठन एक हुनु राम्रो भएको बताए । संविधान संशोधन नभएसम्म सरकारमा नजाने बताउँदै उनले भने, “जबसम्म सरकारसँग लिखित सम्झौता हुँदैन, तबसम्म सरकारमा जादैँनौं, बरु विपक्षीको भूमिका निर्वाह गर्छाैं ।”

अध्यक्ष यादवले संविधानमा समाजवाद उल्लेख गरेपनि गरिब, अशिक्षा र बेरोजगारको अन्त्य नगरेसम्म समाजवादको कल्पना गर्न नसकिने बताए । एकीकरणपछि बनेको ट्रेड युनियन महासङ्घको अध्यक्षमा नवराज दाहाल, सहअध्यक्षमा जोगीलाल यादव, वरिष्ठ उपाध्यक्षमा अर्जुन लम्साल छन् ।

यसैगरी उपाध्यक्षमा विन्देश्वर राय यादव, सुनितादेवी बराल, प्रेम भुजेल, सपना अर्याल र हेमन्त माण्डव, महासचिवमा डिबी सरोज राई, उपमहासचिवमा हरिश दाहाल, दयाराम राई, शैलेन्द्र वैद्य र बलराम चौधरी, सचिवमा यज्ञकुमार राई, कुलमाया गोले, वासुदेव यादव, गोपाल राई, राजेन्द्र भुसाल र रामविलास यादव तथा कोषाध्यक्षमा शोभा मण्डलसहित ८७ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको महासङ्घले जनाएको छ ।