केदारभक्त माथेमाले भने, ‘देश बिकास गर्ने हो भने सार्वजनिक शिक्षाको बिकास नै हुनुपर्छ । सँसारका धेरै देश हेर्नुस्, जहाँ प्रगति भएको छ, त्यहाँ सार्वजनिक शिक्षा निःशुल्क र गुणस्तरीय छ र विश्वविद्यालयहरु बलिया छन् ।’
सार्वजनिक विषयमा छलफल बढाउने र पठन सँस्कृतिको प्रवर्धन गर्ने लक्ष्यसाथ स्थापित डबली द स्पेस बुक क्याफेको स्थापना भएको छ । भरतपुर विमानस्थल नजिकै रहेको क्याफेले उद्घाटनका अवसरमा विभिन्न अन्तक्र्रिया कार्यक्रम गरेको छ ।
उद्घाटनको पहिलो दिन ’कहाँ बाटो बिरायो शिक्षाले’ भन्ने विषयमा शिक्षाविद् केदारभक्त माथेमाले प्रमुख मन्त्व्य राखेका थिए । सो अवसरमा उनले अन्य देशको तुलनामा नेपालमा शिक्षा क्षेत्रको बिकास ढिलो सुरु भएको हुँदा शिक्षाको मामलामा नेपाल ’बिचरा’ भएतापनि पछिल्ला दशकहरुमा स्कुल र विश्वविद्यालयहरुको स्थापना, क्याम्पस जाने जनसङ्ख्या आदिमा उल्लेख्य वृद्धि भएको बताए । उनले भने, ‘देश बिकास गर्ने हो भने सार्वजनिक शिक्षाको बिकास नै हुनुपर्छ । सँसारका धेरै देश हेर्नुस्, जहाँ प्रगति भएको छ, त्यहाँ सार्वजनिक शिक्षा निःशुल्क र गुणस्तरीय छ र विश्वविद्यालयहरु बलिया छन् ।’
माथेमाले संविधानमा नै समाजवाद उन्मुख लेखिएको र दुई कम्युनिष्ट दलहरुको गठबन्धन सरकार भएकाले सार्वजनिक शिक्षालाई बलियो बनाउने, गुणस्तरीय शिक्षामा सबैको पहुँच पुर्याउने र शैक्षिक संस्थाहरुलाई बलियो र स्वायत्त बनाउने अवसर भने आएको बताए ।
सन् २००५ मा विद्यालय भर्ना भएका १४ लाख केटाकेटीमध्ये सन् २०१५ मा आउँदा ४ लाखले मात्र एसएलसी दिएको उदाहरण दिँदै माथेमाले खास गरी नेपालको सार्वजनिक स्कुले शिक्षा ’हरर स्टोरी’ भएको र शिक्षा ऐनको नवौं संशोधनले अरु बीस वर्षका लागि स्कूले शिक्षालाई बर्बाद गरेको बताए ।
कार्यक्रमको दोस्रो दिन साहित्यकार नारायण ढकालको पछिल्लो पुस्तक ’हजार माइलको बाटो’ र उनको समग्र लेखनबारे छलफल भएको थियो । कार्यक्रममा ढकालले इतिहासलाई आख्यानमा ढाल्न आफूले विभिन्न प्रयास गरेको बताए । उनले व्यक्तिको चिन्तन साहित्य लेखनमा पनि अभिव्यक्त हुने भएकाले आफ्नो लेखनमा पनि प्रगतिशीलता देखिनु अस्वाभाविक नभएको बताए ।
कार्यक्रममा सरिता तिवारीले ढकालले यथार्थपरक विषयवस्तु र यथार्थ पात्रहरु नै लिएर लेख्ने हुनाले नेपाली समाजमा अन्तर्निहित द्वन्द्वहरु केलाउन सघाएको बताइन् । ढकालको लेखनले इतिहासलाई भिन्न दृश्टिकोणबाट हेर्न सघाउने पनि उनले बताइन् ।
सहभागीहरुले ढकालको लेखनमा नारीपात्रहरु नआएको र सधैँ काठमाडौँको काँठको विषयमात्र आउँदा विविधता हुन नसकेको तथा लेखकहरुमा एक अर्काको स्वस्थ आलोचनाको संस्कृति नबसेको भन्ने जस्ता धारणा राखेका थिए ।
कार्यक्रमको तेस्रो दिनमा लेखिका कुमारी लामा र अध्येता उदयराज अधिकारीसँग कवि सुमनराज श्रेष्ठले लेखक–पाठक अन्तक्र्रियाले लेखनको गतिशीलतामा पुर्याउने प्रभावबारे कुराकानी गरेका थिए । छलफलमा बोल्दै लामाले राजनीतिक आन्दोलनको विकाससँगै नेपाली साहित्यमा सिमान्तकृतहरुको आवाज लेख्ने क्रम बढे पनि त्यस्तो साहित्यलाई बजार र मिडियाले न्याय गर्न नसकेको बताए । उनले भने, ‘अब हामीले सिमान्तकृतभित्र पनि सिमान्तकृत जस्तै महिलाभित्र मुसलमान महिला, दलितभित्र पनि तराइको दलित र तेस्रो लिङ्गीहरुबारे लेख्न थाल्नुपर्छ ।’
अध्येता उदयराज अधिकारीले लेखक बजारबाट मात्र निर्देशित हुनुभन्दा वैचारिक र सैद्धान्तिक नेतृत्व लिन तयार हुनुपर्ने तथा अबका पाठकले संसारभरको साहित्य पढ्न भ्याएकाले लेखकलाई विगतमा झैँ सधैंभरि उही विषयवस्तु र उही शैलीमा लेखिरहनेभन्दा पनि युग सुहाउँदो लेख्न दबाब परेको बताए । अन्य सहभागीहरुले नेपालमा बालसाहित्य र किशोरकिशोरी लक्षित साहित्यको पनि गुणात्मक बिकास हुन नसकेको औँल्याएका थिए ।
साहित्य, संस्कृति, सङ्गीत, कला र समसामयिक राजनीति लगायतका विषयमा छलफल चलाउने, नेपाली र विदेशी लेखकका पुस्तकहरु उपलब्ध गराउने र पठन र बहस संस्कृतिको बिकास गर्ने लक्ष्यका साथ डबली बुक क्याफे सुरु गरिएको क्याफेकी व्यवस्थापक शारदा क्षेत्रीले बताइन् । डबली बुक क्याफेमा कफी, फास्ट फुड, पढ्नका लागि वातानुकूलित कक्ष र विभिन्न कार्यक्रमहरु गर्न मञ्च र हल पनि उपलब्ध गराइने उनले बताइन् ।