ऊर्जामन्त्री पुन र ब्रिटिस संसदीय प्रतिनिधिमण्डलबीच भेटवार्ता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग ब्रिटिस संसदीय प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आइतबार भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा छलफल भएको छ । नेपालको सङ्घीय संसद्को निमन्त्रणामा नेपाल भ्रमणमा आएको ब्रिटिस संसदीय प्रतिनिधिमण्डलको नेतृत्व बेलायती सांसद निजेल इभान्सले गरेका छन् । भेटमा ऊर्जामन्त्री पुनले बेलायत नेपालको...

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग ब्रिटिस संसदीय प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आइतबार भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा छलफल भएको छ ।

नेपालको सङ्घीय संसद्को निमन्त्रणामा नेपाल भ्रमणमा आएको ब्रिटिस संसदीय प्रतिनिधिमण्डलको नेतृत्व बेलायती सांसद निजेल इभान्सले गरेका छन् । भेटमा ऊर्जामन्त्री पुनले बेलायत नेपालको पुरानो विकास साझेदार मुलुक रहेको भन्दै आगामी दिनमा पनि दुवै देशबीच सुमधुर सम्बन्ध रहने विश्वास व्यक्त गरे । बेलायतले नेपालको शिक्षा, स्वास्थ्य र सुरक्षाको क्षेत्रमा गेरको सहयोग निकै महत्वपूर्ण रहेको समेत उनले बताए ।

ब्रिटिस संसदीय प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री पुनले ऊर्जा, जलस्रोत र सिँचाइको क्षेत्रमा समेत सहकार्य गर्न सरकार तयार रहेको धारणा राखेका थिए । साथै ऊर्जा मन्त्रालयको १० वर्षमा १० हजार मेगावाट बिजुली उत्पादन गर्ने योजना रहेको भन्दै त्यसका लागि राष्ट्रिय र अन्र्तराष्ट्रिय क्षेत्रको सहयोग आवश्यक रहने धारणा राखे ।

‘अहिले हामीसँग १ हजार मेगावाट मात्र विजुली उत्पादन हुन्छ । तर, हामीसँग १ लाख मेगावाट उत्पादन गर्ने क्षमता छ । १० वर्षमा १० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न हामीलाई निजीक्षेत्र तथा विदेशी लगानीकर्ताको आवश्यकता हुन्छ,’ मन्त्री पुनले भने । उनले नेपालमा लगानीको वातावरण रहेको भन्दै बेलायती लगानीकर्तालाई नेपालको ऊर्जाक्षेत्रमा लगानी गर्न पनि आग्रह गरेका थिए ।

भेटमा बेलायती सांसदहरुले नेपालको ऊर्जा, सौर्य ऊर्जा र जलस्रोतको क्षेत्रमा सरकारको नीति र योजनाबारे चासो राखेका थिए । बेलायती सांसद निजेल इभान्सले नेपालको विकासमा बेलायत सहयोग गर्न तयार रहेको धारणा राखेका थिए । उनले बेलायत युरोपियन युनियनबाट अलग भएपछि यस्ता खालका द्विपक्षीय भ्रमण अझै बढ्ने र त्यसले दुई देशको सम्बन्ध अझै मजबुत बन्ने धारणा राखे ।

भेटमा बेलायती सांसदहरुले नेपालमा बिजुलीको अवस्था, जलविद्युत्ले वातावरणमा पारेको असर र त्यसको रोकथामका लागि सरकारले अघि सारेका कदमबारेसमेत चासो राखेका थिए । भ्रमण दलमा बेलायती सांसदहरु डेभिड मोरिस, वीरेन्द्र शर्मा, केरी मेकर्थी, लोर्ड बाल्फे र लोर्ड ढोलकिया छन् ।