प्रविधिमैत्री पर्यटन प्रवर्द्धनमा जोड

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसँगको अन्तर्क्रियाका वक्ताहरुले बढीभन्दा बढी पर्यटक भित्र्याउन आकर्षक प्रवर्द्धनात्मक अभियानका साथ पर्यटकीय उत्पादनलाई गुणस्तरीय बनाइनुपर्ने खाँचो औँल्याए ।

युवा उद्यमी तथा व्यवसायीले मुलुकको समग्र पर्यटन क्षेत्रको विकास तथा सुधारका लागि पूर्वाधार विकास र सेवा विविधीकरणमा जोड दिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसँगको अन्तर्क्रियाका वक्ताहरुले बढीभन्दा बढी पर्यटक भित्र्याउन आकर्षक प्रवर्द्धनात्मक अभियानका साथ पर्यटकीय उत्पादनलाई गुणस्तरीय बनाइनुपर्ने खाँचो औँल्याए । साथै, उनीहरुले आफ्ना पर्यटकीय उत्पादन र गतिविधिलाई सामाजिक सञ्जालको भरपुर उपयोग गरी विश्व बजारमा प्रवर्द्धन गरिनुपर्ने सुझाए ।

नेपाल पर्यटन बोर्डले आयोजना गरेको अन्तर्क्रियामा पर्यटन व्यवसायी राजन सिंखडा, चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेख विक्रम शाह, प्यासिफिक एसिया ट्राभल एसोसिएसन नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुढाल, बबरमहल रिभिजिटेडका विराट शम्शेर जबरा, आर्य भिलेज ट्राभल बजार व्यवस्थापक विनोद अधिकारीलगायतले विमानस्थलको सुधार, विद्युतीय बजारीकरण तथा नयाँ गन्तव्य प्रवर्द्धनका कामलाई विशेष प्राथमिकता दिनुपर्ने बताए ।

युवा व्यवसायीको जोसिलो धारणा लिएका मन्त्री अधिकारीले पर्यटन प्रवर्द्धनलाई विगतकोभन्दा युग सुहाउँदो प्रविधिमैत्री बनाएर लैजान सरोकार भएका निकायलाई निर्देशन दिए । “पर्यटनमा युवा पुस्ताको बुझाइ के हो, उद्यमशीलता प्रवद्र्धनार्थ के–कस्ता कार्यक्रम ल्याउन सकिन्छ भन्ने उद्देश्यले यो कार्यक्रम गरिएको हो प्रवर्द्धनात्मक कार्यलाई अब परम्परागत ढंगले हैन प्रविधिमैत्री बनाई सिर्जनात्मक परिमाण देखिने गरी अभियान चलाइनुपर्छ”, उनले भने ।

अर्थतन्त्रको मुख्य आधार पर्यटन भएकाले यसको कुल गार्हस्थ उत्पादनमा कम्तीमा २५ प्रतिशत योगदान पु¥याउने लक्ष्यका साथ प्रभावकारी कार्य गर्न जरुरी भएको मन्त्री अधिकारीको भनाइ थियो ।

उनले सर्वाधिक चासोको विषय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई व्यवस्थित र सेवामा सहजीकरण गर्न परिणाम देखिने गरी काम अघि बढाइएको उल्लेख गरे । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले युवा व्यवसायीको रचनात्मक सुझावलाई पर्यटन प्रवद्र्धनको रणनीतिमा समावेश गरी प्रभावकारी प्रवद्र्धनका अभियान चलाइने बताए ।

कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले अन्पूर्ण संरक्षण क्षेत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लिएर पदयात्रामा कुनै अवरोध नगरिएको दाबी गरे । उनले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा अघिल्लो दिन ४ः०० बजेदेखि भोलिपल्ट बिहान १० बजे पूजापाठ सकिएपछि पदयात्रा खुल्ने जानकारी दिए । रासस