नेप्सेमा सामान्य गिरावट, कारोबार रकममा एक तिहाइले कमी

सेयर बजार कारोबार रोकिँदा ४.८७ अङ्कले घटेर १३५६.१५ अङ्कमा रोकिएको छ ।

सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य घटेको छ । मङ्गलबार कारोबार समय सकिने बेला एकाएक १५ अङ्क बढेको नेप्से बुधबार पनि वृद्धिकै चक्करमा थियो ।

कारोबार खुल्नासाथ सामान्य घटेर उकालो लागेको बजार १३६५.४८ बिन्दुसम्म पुगेको थियो । त्यसपछि घट्न थालेको बजार कारोबार रोकिँदा ४.८७ अङ्कले घटेर १३५६.१५ अङ्कमा रोकिएको छ ।

नेप्सेमा बुधबार कारोबार भएका ९ उपसमूहमध्ये ८ उपसमूहको सेयर सूचक ओरालो लागेपछि समग्रमा नेप्से ओर्लिएको हो । बुधबार अन्य समूह ०.०९ अङ्कले बढे पनि बैङ्किङ ५.१, होटल १२.०१, विकास बैङ्क ८.०७, जलविद्युत् ६.२, वित्त २.६९, बिमा १८.६९, उत्पादनमूलक तथा प्रशोधन ४.४३ र लघुवित्त ६.६३ अङ्कले घटेको छ ।

बुधबार कारोबार रकम घटेर ३४ करोड ७ लाख ३४ हजार ३ सय ८९ रुपैयाँमा खुम्चिएको छ । यसदिन ५ हजार ६ सय ३४ कारोबारबाट ६ लाख ५४ हजार २ सय २४ कित्ता सेयर खरिद बिक्री भएको छ । मङ्गलबार ६ हजार ३ सय १ कारोबारबाट १४ लाख ३९ हजार ३ सय ९३ कित्ता सेयर खरिद बिक्री भई ५० करोड ६४ लाख ८९ हजार ३ सय २२ रुपैयाँबराबरको कारोबार भएको थियो ।