सुरु भयाे ४५ जिल्लामा मतदान

देशका पहाडी र मधेसका ४५ जिल्लामा मतदान सुरु भएकाे छ । केही जिल्लामा चिसाे भएकाले ताेकिएकाे समयमै सुरु गर्न नसकिए पनि धेरै जसाे जिल्लामा मतदान सुरु भईसकेकाे निर्वाचन अायाेगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

४५ जिल्लाका प्रतिनिधिसभाको १२८ र प्रदेशसभाको २५६ वटा निर्वाचन क्षेत्रमा मतदान हुन लागेको हो।  ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान सञ्चालनका लागि निर्वाचन आयोगमार्फत खटिएका कर्मचारीले बुधबार नै मतदानस्थल तयार गरिसकेका थिए ।

मतदाता परिचय पत्र पनि बिहीबारसम्म वितरण भइसकेको छ। बिहीबार मतदान हुने ४५ जिल्लामा प्रतिनिधिसभाका लागि १२८ सिटका लागि १ हजार ६ सय ६३ जना प्रतिस्पर्धामा छन्।

त्यस्तै २५६ प्रदेशसभा सिटका लागि २ हजार ८ सय १९ जना प्रतिस्पर्धामा छन्। सरकार र निर्वाचन आयोगले सुरक्षा अवस्था भरपर्दो रहेकाले ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरेका छन्।

यसअघि मंसिर १० गते ३२ जिल्लाको ३७ निर्वाचन क्षेत्रमा निर्वाचन भएको थियो। ती ठाउँको मत पनि बिहीबारदेखि नै गणना हुँदैछ। ३२ वटै जिल्लामा मतगणनाको तयारी अन्तिम चरणमा पुगेको छ।

ती सबै ठाउँमा बिहीबार साँझ ५ बजेदेखि मतगणना हुँदैछ। मतगणनाको लागि सुरक्षा लगायतका सबै तयारी पूरा भइसकेको सम्बन्धित जिल्लाका जिल्ला निर्वाचन कार्यालयहरुले जनाएकाे छ ।