नियामकहरुको एकैथलोमा जमघट र प्रि–बजेटले तानेन लगानीकर्ता

सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबार पनि सामान्य घटेको छ । बुधबार ४.८७ अङ्कले घटेको बजार बिहीबार ७.७० अङ्क (०.५७ प्रतिशत)ले घटेर १३४८.४५ अङ्कमा खुम्चिएको छ । बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) पेस गरे पनि बजारमा खासै प्रभाव परेन । हुन त्यसमा पुँजीबजारबारे खासै केही उल्लेख छैन । त्यसो त बुधबार...

सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबार पनि सामान्य घटेको छ । बुधबार ४.८७ अङ्कले घटेको बजार बिहीबार ७.७० अङ्क (०.५७ प्रतिशत)ले घटेर १३४८.४५ अङ्कमा खुम्चिएको छ । बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) पेस गरे पनि बजारमा खासै प्रभाव परेन । हुन त्यसमा पुँजीबजारबारे खासै केही उल्लेख छैन ।

त्यसो त बुधबार नै अर्थमन्त्री खतिवडासहित नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपाल, नेपाल धितोपत्र बोर्डको अध्यक्ष डा. रेवतबहादुर कार्की, बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागार्इंलगायत बोर्डद्वारा आयोजित ‘क्यापिटल एक्सपो’मा जमघट देखिए पनि बजारलाई तताउन सकेन । कार्यक्रममा अर्थमन्त्री खतिवडाले लगानीकर्तालाई सचेत भएर लगानी गर्न र बजार घटेका बेला सरकारलाई धारे हात नलगाउन आग्रह गरेका थिए । त्यस्तै गभर्नर नेपालले भने पुँजीबजारमा लगानी नगर्ने व्यक्ति २१औं शताब्दीको लगानीकर्ता नै नभएको जिकीर गरेका थिए । यद्यपि कसैको प्रभाव बजारमा परेन र सामान्य हिसावले कारोबार भएर बिहीबार सकियो ।

नेप्सेमा बिहीबार कारोबार भएका सबै सूमह सूचक झरेपछि नेप्से ओरालो लागेको हो । यस दिन सबैभन्दा बढी बिमा उपसमूह ६९.२८ अङ्क, होटल ३१.८२, जलविद्युत २५.६३, लघुवित्त १४.४१, अन्य ६.४६, व्यापार ५.८३, विकास बैङ्क ५.६७, बैङ्किङ ३.३४ र सबैभन्दा कम वित्त समूह २.४१ अङ्कले घटेको छ ।

बिहीबार ५ हजार ५ सय ८८ कारोबारबाट ७ लाख ७३ हजार २ सय १० कित्ता सेयर खरिदबिक्री भई ३५ करोड ८८ लाख ४४ हजार २ सय ६० रुपैयाँबराबरको सेयर कारोबार भएको छ । कारोबार रकम बुधबारको तुलनामा डेढ लाख रुपैयाँभन्दा बढी हो । बुधबार कारोबार रकम घटेर ३४ करोड ७ लाख ३४ हजार ३ सय ८९ रुपैयाँमा खुम्चिएको थियो । यस दिन ५ हजार ६ सय ३४ कारोबारबाट ६ लाख ५४ हजार २ सय २४ कित्ता सेयर खरिदबिक्री भएको थियो ।

बिहीबार सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड २२ लाख ६५ हजार रुपैयाँबराबरको भएको छ । बजारमा सबैभन्दा बढी नेरुडे लघुवित्त विकास बैङ्क ४.२५ प्रतिशतले सेयर मूल्य घटेको छ भने सबैभन्दा बढी बढ्नेमा समता माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ५.९५ प्रतिशत छ ।