विमानस्थल स्तरोन्नति भएको आठ वर्षसम्म कुनै पनि विमानले उडान नभरेको भन्दै उनीहरुले सेवा सञ्चालनका लागि आग्रह गरेका हुन् ।
दुर्गम जिल्ला मनाङमा रहेको एकमात्रै हुम्डे विमानस्थल सञ्चालनमा ल्याउन मनाङवासीले सरकारसमक्ष अनुरोध गरेका छन् । विमानस्थल स्तरोन्नति भएको आठ वर्षसम्म कुनै पनि विमानले उडान नभरेको भन्दै उनीहरुले सेवा सञ्चालनका लागि आग्रह गरेका हुन् ।
सरकारले दुर्गम पहाडी जिल्लामा एक जिल्ला एक हवाईमैदान निर्माण गर्ने भनी बजेट वक्तव्यमा उल्लेख गरे पनि व्यवहारमा लागू नगरेको भन्दै उनीहअरूले सरकारको आलोचनासमेत गर्न थालेका छन् ।
सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा विमान सेवा सञ्चालनको योजना राखे पनि विमानस्थल निर्माण नगरिएको स्थानीय समाजसेवी साङ्दो लामाले बताए । ‘हामी मनाङी जनताको समृद्धि र प्रतिष्ठासँग जोडिएको विमानस्थल बन्द हुँदा जनता र पर्यटकले सास्ती खेप्नुपरेको छ,’ उनले भने, ‘यो मनाङी जनतामाथिको अपमान हो ।’
करोडौँ रुपैयाँ खर्चेर आठ वर्षअघि नै स्तरोन्ति र कालोपत्रे गरी बाह्रै महिना विमान अवतरण गर्न सकिने हुम्डे विमानस्थलमा हालसम्म सरकारी तवरबाट वा व्यावसायिक हिसाबले कुनै पनि जहाज अवतरण नभएको स्थानीयवासी कान्छा गुरुङले बताए । ‘विमान नआउँदा विमानस्थल साइकल र मोटरसाइकल सिक्ने केन्द्र बन्न थालेको छ’ उनले भने, ‘विमानस्थलभित्र पशु चौपाया पस्छन्, भित्रका संरचना काम नलाग्ने अवस्थामा पुगेका छन् ।’
बेँसीसहर–चामे र चामे–खाङ्सार सडक निर्माणका कारण यात्रु कम भएको भन्दै वायु सेवा प्रदायक कम्पनीहरुले उडान भर्न छाडेको स्थानीयवासीले बताए । स्थानीय विनोद गुरुङले भने, ‘हप्ताको एक दुई दिनमात्रै विमान कम्पनीले उडान भर्ने हो भने यात्रु सजिलै पाइन्छ ।’
अन्नपूर्ण पदयात्राको मूल मार्ग मानिने मनाङमा नियमित उडान नहुँदा समस्या भएकाले सरकारी तवरबाट पनि विमानस्थल सञ्चालनको पहल गरिरहेको प्रतिनिधिसभाका सांसद कर्म घलेले बताए । ‘मैले वायु सेवा प्रदायक कम्पनीलाई हप्ताको एक दुई दिनमात्रै भए पनि उडान भर्न आग्रह गरिरहेको छु,’ उनले भने । रासस