पर्यटनबाटै मुलुकको विकास गर्न सकिने मन्त्री अधिकारीको भनाइ

म्याग्दी उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि सुरु भएको ‘म्याग्दी भ्रमण वर्ष २०७५’ बेनीमा शुभारम्भ गर्दै उनले पर्यटनको विकासको लागि सरकार पूर्वतयारीमा जुटेको बताए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटनको माध्ययमबाटै मुलुकको दिगो विकास सम्भव रहेको बताएका छन् ।

म्याग्दी उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि सुरु भएको ‘म्याग्दी भ्रमण वर्ष २०७५’ बेनीमा शुभारम्भ गर्दै उनले पर्यटनको विकासको लागि सरकार पूर्वतयारीमा जुटेको बताए ।

मन्त्री अधिकारीले नेपाल प्राकृतिक, धार्मिक, ऐतिहासिक र परम्परागत कला संस्कृतिमा धनी भएकाले तिनको संवर्धन गरी पर्यटक भित्र्याउन सके मुलुकको विकास र समृद्धि सम्भव हुने बताए ।

‘‘यहाँ कयौँ मनोरम पर्यटकीय गन्तव्य छन्, पूर्वाधार विकास र प्रचारप्रसार नहुँदा अहिले पर्यटक बढ्न सकेका छैनन्, अब सरकारले त्यसतर्फ ध्यान दिन्छ, पर्यटन विकासमा सरकार गम्भीर भएर लागेको छ’’–उनले भने ।

सन् २०२० मा वार्षिक १५ लाख पर्यटक भित्र्याउने घोषणा गरिएको उल्लेख गर्दै मन्त्री अधिकारीले सरकारले त्यो सङ्ख्या बढाएर २० लाख पर्यटक भित्र्याउने योजना सहित काम गरिरहेको बताए ।

उद्योग वाणिज्य सङ्घ, बेनी नगरपालिका र पर्यटन बोर्डद्वारा संयुक्त रुपमा स्थापित पर्यटक सूचना केन्द्र उद्घाटन गर्दै उनले यस केन्द्रले जिल्लामा भित्रने पर्यटकलाई जिल्लाका गन्तव्यको बारेमा सूचना र सन्देश प्रवाह गर्न सघाउने विश्वास व्यक्त गरे । रासस