सगरमाथा आरोहण सुरुः पहिलो दिनमै आठ शेर्पा चुचुरोमा

रोप फिक्सिङसँगै सगरमाथाको पहिलो आरोहण सुरु भएको पर्यटन विभागले जनाएको छ । विभागका महानिर्देशक दिनेश भट्टराईले आठ जना शेर्पा आरोही चुचुरोमा पुगेको प्रारम्भिक जानकारी आएको बताए ।

यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा (८,८४८ मिटर) हिमालको आरोहण सुरु भएको छ । आठ जना शेर्पा आरोहीले डोरी टाँग्ने (रोप फिक्सिङ) का क्रममा आज सगरमाथाको चुचुरोमा पुगेपछि आरोहणका लागि बाटो खुला भएको हो ।

रोप फिक्सिङसँगै सगरमाथाको पहिलो आरोहण सुरु भएको पर्यटन विभागले जनाएको छ । विभागका महानिर्देशक दिनेश भट्टराईले आठ जना शेर्पा आरोही चुचुरोमा पुगेको प्रारम्भिक जानकारी आएको बताए ।

सगरमाथा आधार शिविर (बेस क्याम्प) मा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार आज दिउँसो ३ः३० बजे शेर्पा आरोही बाटो बनाउने क्रममा सगरमाथाको चुुचुरो पुगेका हुन् । योसँगै सगरमाथाको पहिलो आरोहण सफल भएको छ ।

अहिले अनुकूल मौसमका लागि धेरै आरोही प्रतीक्षामा छन् । बेस क्याम्पभन्दा माथि २ सयभन्दा बढी आरोही रहेको र सोमबार र मङ्गलबार झन्डै १ सय ५० आरोही चुचुरोमा पुग्ने अनुमान गरिएको सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिए ।

‘धेरै आरोही सगरमाथाको चुचुरो नजिक क्याम्प–४ मा पुगिसकेका छन्, भोलिबाट धमाधम समिटमा जानेछन् सबैभन्दा धेरै आरोही मङ्गलबार चुचुरोमा पुग्ने अनुमान गरिएको छ,’ उनले भने । आरोहणका लागि मौसम अनुकूल देखिएकाले यो वर्षको आरोहण उत्साहजनक हुने श्रेष्ठको भनाइ छ ।

सगरमाथाको चुचुरो पुग्ने शेर्पा आरोहीमा पासाङ तेञ्जिङ शेर्पा, पासदावा शेर्पा, लाक्पा तेन्डी शेर्पा, जीनजेन लामा, सिद्धिबहादुर तामाङ, पेम्बाछिरि शेर्पा, तेञ्जिङ ग्याल्जेन शेर्पा र डेटुक भोटे छन् ।

हिमालयन गाइड नेपाल ट्रेक एन्ड एक्सपिडिसन प्रालिबाट गएका आठ शेर्पा चुचुरोमा पुगेका हुन् । उनीहरु दिउँसो आरोहण सफल गरी अहिले फर्कने क्रममा रहेका र आज क्याम्प–२ सम्म आइपुग्ने कम्पनीका प्रबन्ध निर्देशक ईश्वरी पौडलले बताए । गतवर्ष बाटोका कारण आरोहणमा केही ढिलाइ भएपनि यो वर्ष समयमै बाटो खुलेकाले आरोहण उत्साहपूर्ण रहने उनले उल्लेख गरे ।

अन्नपूर्ण आरोहणः कोरियालीे समूह सफल

यसैबीच, आजै सगरमाथासँगै अन्नपूर्ण (८०९१ मिटर) हिमालको पनि सफल आरोहण भएको छ । दक्षीण कोरियाली नागरिक हाेंगविन किमको समूहले आज विहान ११ः३० बजे अन्नपूर्ण हिमालको सफल आरोहण गरेको छ ।

किमका साथमा चारजना शेर्पा पनि सँगै अन्नपूर्णको चुचुरोमा पुगेका छन् । पिछुम्बी शेर्पा, ग्याल्जे शेर्पा, छिरिङ शेर्पा र निमा तेञ्जी शेर्पा अन्नपूर्ण आरोहणमा सफल भएका हुन् । यो मौसममा एकमात्र आरोहण दलले अन्नपूर्ण हिमाल आरोहणका लागि अनुमति लिएको सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिए । अन्नपूर्ण हिमाल आरोहणका हिसाबले असाध्यै गाह्रो मानिन्छ ।

पर्यटन विभागका अनुसार यो वर्ष सगरमाथा आरोहणका लागि ३८ अाेटा आरोहण समूह (टिम) का ३६४ आरोही गन्तव्यतर्फ लागेका छन् । यसमध्ये चार समूहका २० जना नेपाली छन् ।

अघिल्लो वर्षको वसन्त ऋतुमा ४३ अाेटा समूहका ३ सय ६६ स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए । सन् २०१६ मा ३८ अाेटा समूहका ३ सयभन्दा बढी आरोहीले सगरमाथाको चुचुरो चुमेका थिए । रासस