सगरमाथा आरोहणमा नयाँ रेकर्ड

सगरमाथा बेसक्याम्पका सम्पर्क अधिकृत श्रेष्ठले आज ४१ जना विदेशी र ५३ जना शेर्पाहरुले सगरमाथा शिखरको सफल आरोहण गरेको बताए ।

सर्वोच्च शिखर सगरमाथा आरोहणको इतिहासमा बुधवार दुई नयाँ रेकर्ड कायम भएका छन् । २२ औं पटक सगरमाथाको सफल आरोहण गरी कामीरिता शेर्पाले विश्व कीर्तिमान कायम गरेका छन् भने १३ औं पटक सगरमाथा आरोहण गरी बेलायतका केन्टन कुलले ब्रिटिस रेकर्ड तोडेका हुन् ।

बुधवार बिहान ८ बजेर ३० मिनेटमा नेपाली नागरिक शेर्पाले सगरमाथाको सफल आरोहण गरेका थिए । यसअघि आप्पा शेर्पाले सन् २०११ मा र सन् २०१४ मा फुर्बा तासी शेर्पाले २१ पटक सगरमाथाको आरोहण गरेका थिए भने कामीरिताले गएको वर्ष २१ औं पटक आरोहण गरी रेकर्ड बनाएका थिए ।

४८ वर्षीय कामीरिताले आफ्नै रेकर्डलाई तोड्दै विश्वकीर्तिमान कायम गरेको सगरमाथा बेसक्याम्पका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।
यस्तै ब्रिटिस इतिहासमा १३ औं पटक सगरमाथा शिखरको सफल आरोहण गरी ब्रिटिस नागरिक ४३ वर्षीय केन्टन कुलले नयाँ रेकर्ड राख्न सफल भएका छन् । उनले बुधवार बिहान ८ बजे सगरमाथाको सफल आरोहण गरेका थिए ।

सगरमाथा बेसक्याम्पका सम्पर्क अधिकृत श्रेष्ठले आज ४१ जना विदेशी र ५३ जना शेर्पाहरुले सगरमाथा शिखरको सफल आरोहण गरेको बताए । यो वर्ष सगरमाथा आरोहणका लागि ३ सय ४६ जनाले अनुमति लिएका थिए । जसमा १ सय ५० जनाले सगरमाथा आरोहण गरिसकेका छन् । सगरमाथा आरोहणका लागि ५ सय जना सहयोगीहरु छन् ।

मङ्गलबार धेरै हावाहुरी चलेकाले सगरमाथा आरोहणमा समस्या भएको थियो । बुधबार मौसम सफा भएकाले धेरै जनाले आरोहण गरेको सम्पर्क अधिकृत श्रेष्ठको भनाइ छ ।