४० वर्षपछि होटल व्यवसायमा फर्कियो आईएमएस समूह

काठमाडौंको धापासीमा रहेको शहंशाह इन्टरनेसनल होटल आईएमएस समूहले खरिद गरी नयाँ व्यवस्थापनमा सञ्चालन हुनेछ । एक वर्षअघि होटल खरिद गरेको समूहले अहिले होटलमा नयाँ डिजाइन र इन्टेरियरको काम थालिएको छ ।

आईएमएस समूहले काठमाडौंको दुई ठाउँमा होटल सञ्चालनमा ल्याउन लागेको छ । झन्डै दुई अर्ब रुपैयाँको लगानीमा समूहले काठमाडौंको कालिकास्थान र धापासीमा होटल सञ्चालन गर्न लागेको हो ।

काठमाडौंको धापासीमा रहेको शहंशाह इन्टरनेसनल होटल आईएमएस समूहले खरिद गरी नयाँ व्यवस्थापनमा सञ्चालन हुनेछ । एक वर्षअघि होटल खरिद गरेको समूहले अहिले होटलमा नयाँ डिजाइन र इन्टेरियरको काम थालिएको छ । समूहले शहंशाह होटललाई ५५ करोडमा खरिद गरी थप ३५ करोड रुपैयाँ लगानी बढाउन लागेको हो ।

शहंशाह इन्टरनेसनल होटललाई नयाँ व्यवस्थापन र नयाँ सुविधासहित सञ्चालनमा ल्याउनका लागि काम भैरहेको समूहका अध्यक्ष दीपक मल्होत्राले बताए । ‘हामी शहंशाह होटलभित्र नेपालको सबैभन्दा राम्रो हेल्थक्लब निर्माण गर्दैछौं,’ उनले भने । पाँचतारे सुविधासहितको ब्याङ्केट हल र सुविधायुक्त ४० कोठा होटलभित्र हुने उनले बताए ।

त्यस्तै समूहले कालिकास्थानमा यसअघि नै निर्माण गरेको सिल्भर सिटी अपार्टमेन्टको एउटा टावरलाई होटलमा परिणत गर्ने भएको छ । इन्टरनेसनल होटलको नामबाट अपार्टमेन्ट सुविधासहितको होटल सञ्चालनका लागि समूहले काम थालेको छ । समूहले इन्टरनेसनल होटलका लागि ८५ करोड लगानी गरेको छ ।

नेपालको भविष्य पर्यटनमै छ, संसारका कतिपय मुलुक पर्यटनबाट नै टिकेका छन् । ‘नेपालमा पनि अधिक सम्भावना भएकाले पर्यटनमा नै लगानी बढाउनुपर्छ,’ मल्होत्राले भने । नेपालमा पर्यटक आगमन बढ्दै छ तर यथेष्ट होटल छैनन्, त्यसैले स्तरीय होटल अझै खुल्नुपर्छ ।

मल्होत्राका बुबाले ४० वर्षअघि काठमाडौंमा मानसरोवर होटल सञ्चालन गरेका थिए । सीमित होटल रहेको त्यसबेला मानसरोवर होटलको गुडविल राम्रो थियो ।

‘बुबाले ४० वर्षअघि होटल व्यवसाय गर्नुभएको थियो, अब हाम्रो परिवार पुनः होटल व्यवसायमा फर्किएको छ,’ मल्होत्राले भने । दुई होटल पूर्ण रुपमा सञ्चालनमा आएपछि थप एक होटल निर्माण गर्ने योजनामा आफू रहेको उनले बताए ।