चुनावअघि स्थिर नेप्से, चुनावपछि कस्तो होला पुँजीबजारको प्रतिक्रिया ?

बाम गठबन्धनको दुईतिहाई आएमा संविधान परिवर्तन गरेर समाजवादी व्यवस्थाहरुको प्रभावकारी कार्यान्वयन सुरु हुन सक्ने भन्दै केही ठूला सेयर खेलाडीले बजारबाट बाहिरिने प्रयास गरेका खबर पनि अघिल्ला सातामा बाहिर आएका थिए ।

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब स्थिर रह्यो । अघिल्लो साता १५३७ अङ्कमा बन्द भएको नेप्से परिसूचक हिजो बिहीबार १५३६ अङ्कमा रोकिएको छ । यो हप्ताको व्यापारमा नेप्से गत मङ्गलबार १५२४ अङ्कसम्म झरे पनि बुधबारको व्यापारमा सुधार भएको थियो । मुलुकमा सङ्घीय र प्रदेश सभाका लागि दोस्रो चरणको निर्वाचन सुरु हुँदै नेप्से स्थिरता उन्मुख देखिएको छ । साप्ताहिक व्यापारलाई हेर्दा सेयर लगानीकर्ताहरू ‘पर्ख र हेर’को अवस्थामा देखिएका छन् ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ७३ कम्पनीको कारोबार भएको छ । यो हप्ताभर कुल १ अर्ब ८१ करोड २७ लाख ७८ हजार रुपैयाँबराबरका ३३ लाख ७० हजार ६ सय ८० कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । उक्त कारोबार रकम गत साताको भन्दा आधा (५० दशमलव ३७ प्रतिशत) कम हो । गत साता ३ अर्ब ६५ करोड २५ लाख १७ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको थियो । यो हप्ता तीन दिन मात्रै कारोबार खुलेकाले पनि कारोबार रकम कम भएको हो ।

यस साता कारोबार रकम (१५ करोड १४ लाख ५० हजार रुपैयाँ) का आधारमा बुटवल पावर कम्पनी अग्रस्थानमा छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्या (२ लाख ५ हजार कित्ता)का आधारमा पनि बुटवल पावर कम्पनी लिमिटेड अग्रस्थानमा छ । कारोबार सङ्ख्या (१२०५ पटक) का आधारमा हिमालयन पावर पार्टनर अग्रस्थानमा छ ।

यो साता नेप्सेमा फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैङ्कको ५ लाख ९५ हजार १ सय २५ कित्ता र राष्ट्रिय बिमा कम्पनीको ३ लाख १३ हजार ९ सय २० कित्ता बोनस सेयर सूचीकरण भएको छ ।

बिहीबारको निर्वाचनपछि हाल मतगणना जारी छ । देशभरको प्रारम्भिक मतगणनाले वाम गठबन्धनको व्यापक अग्रता देखिन्छ । सेयर बजारमा वाम गठबन्धनप्रतिको नकारात्मक प्रभाव रहेको विगतका निर्वाचन परिणामहरूले देखाएका छन् । हालैका दिनमा पनि सेयर बजारमा वाम गठबन्धनप्रतिको त्रास फैलिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरू पुँजीबजारको विकासमा प्रतिबद्ध रहेको बताएका थिए । यसले सेयर बजारलाई केही उकालो लाग्न सहयोग गरेको पनि थियो ।

तर वाम गठबन्धनको दुईतिहाई आएमा संविधान परिवर्तन गरेर समाजवादी व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयन सुरु हुन सक्ने भन्दै केही ठूला सेयर खेलाडीले बजारबाट बाहिरिने प्रयास गरेका खबरहरू पनि अघिल्ला सातामा बाहिर आएका थिए । चुनावी परिणामलाई सेयर बजारले कसरी लिन्छ भन्ने थाहा पाउन अब आइतबारसम्म कुर्नुपर्ने भएको छ । त्यस बेलासम्म निर्वाचन परिणामको मोटामोटी अनुमान आइसक्नेछ ।