गाउँपालिकाको मासिक आम्दानी एक करोडभन्दा बढी

गतवर्ष २०१७ को अक्टोबरदेखि २०१८ को अप्रिल महिनाको अन्तिमसम्म आठ करोड २३ लाख ४१ हजार पर्यटन प्रवेश शुल्क सङ्कलन गरेको गाउँपालिकाका प्रवक्ता लाक्पा छिरि शेर्पाले जानकारी दिए ।

टिम्स कार्ड (पदयात्री सूचना व्यवस्थापन प्रणाली) निषेध गरेर पर्यटन प्रवेश शुल्क सङ्कलन गर्नथालेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले सात महिनाको अवधिमा आठ करोड रूपैयाँभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।

गतवर्ष २०१७ को अक्टोबरदेखि २०१८ को अप्रिल महिनाको अन्तिमसम्म आठ करोड २३ लाख ४१ हजार पर्यटन प्रवेश शुल्क सङ्कलन गरेको गाउँपालिकाका प्रवक्ता लाक्पा छिरि शेर्पाले जानकारी दिए ।

यो अवधिमा ४१ हजार १ सय ७० जना पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् । यसरी हेर्दा गाउँपालिकाको मासिक आम्दानी एक करोडभन्दा बढी देखिन्छ । नेपाल पर्यटन बोर्डले टिम्स कार्ड (पदयात्री व्यवस्थापन प्रणाली) वितरण गरिरहेको भएपनि त्यसलाई पूर्णनिषेध गर्दै गाउँपालिकाले पर्यटन प्रवेश शुल्क सङ्कलन गर्न थालेको हो । गाउँपालिकाले स्टेशन नै खडा गरेर खुम्बु प्रवेश गर्ने प्रतिपर्यटक दुई हजार प्रवेश शुल्क सङ्कलन गर्ने गरेको छ ।

गाउँपालिकाको तथ्याँकअनुसार अक्टोबर महिनामा सात हजार १२ जनाबाट एक करोड ४० लाख ३५ हजार, नोभेम्बर महिनामा सात हजार ४ सय १२ जनाबाट एक करोड ४० लाख ३५ हजार रूपैयाँ राजश्व सङ्कलन भएको गाउँपालिकाका प्रवक्ता लाक्पाछिरि शेर्पाले जानकारी दिए ।

यस्तै, डिसेम्बर महिनामा दुई हजार ४ सय १७ पर्यटकबाट ४८ लाख ३४ हजार, जनवरीमा एक हजार पाँच पर्यटकबाट २० लाख १० हजार, फेब्रुअरीमा एक हजार ५ सय ६२ पर्यटकबाट ३१ लाख २४ हजार, मार्च महिनामा छ हजार ७ सय ४७ पर्यटकबाट एक करोड ३४ लाख ९४ हजार र अप्रिलमा १० हजार २ सय ६४ पर्यटकबाट दुई करोड ५२ लाख आठ हजार राजश्व जम्मा भएको गाउँपालिकाले जनाएको छ ।

पर्यटन बोर्डले टिम्स कार्ड वितरण गरेर करोडौँ राजश्व सङ्कलन गरेपनि खुम्बु क्षेत्रको पर्यटन प्रवर्द्धनमा चासो नदिएको भन्दै गाउँपालिकाले टिम्स कार्ड नै निषेध गरेको गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले बताए । पर्यटन बोर्डले भने गाउँपालिकाले टिम्स कार्ड निषेध गरेर प्रवेश शुल्क लिनु गैरकानुनी रहेको जनाउँदै आएको छ । रासस