दुई कम्युनिस्ट पार्टीबीचको एकताले स्थिर सरकारको परिकल्पना गरिएको र आगामी आर्थिक वर्षको बजेटमार्फत समृद्धिको ढोका खोलिने अनुमान गरिएपनि त्यसले सेयर बजारलाई खासै आकर्षित गरेन ।
साताको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) र कारोबार रकम दुवैमा झिनो सुधार देखिएको छ । नेकपा एमाले र एमाओवादी केन्द्र आजै एकीकरण हुने समाचार आउँदा पनि त्यसको असर बजारमा खासै परेन । दुई कम्युनिस्ट पार्टीबीचको एकताले स्थिर सरकारको परिकल्पना गरिएको र आगामी आर्थिक वर्षको बजेटमार्फत समृद्धिको ढोका खोलिने अनुमान गरिएपनि त्यसले सेयर बजारलाई खासै आकर्षित गरेन ।
खासगरी नेपाल धितोपत्र बोर्डले सेयर कारोबारीका बारेमा व्यक्तिगत विवरण अद्यावधिक गराउन दिएको निर्देशन र अद्यावधिक नगरी जेठ १ देखि नै सेयर कारोबार गर्न नपाइने व्यवस्थाले खुम्चिएको सेयर कारोबारमा विस्तारै सुधार देखिन थालेको छ । जेठ १ गते मङ्गलबार १४ करोडमा खुम्चिएको सेयर कारोबार बिहीबार भने त्यसको दोब्बर अर्थात् २८ करोड ५४ लाख ५५ हजार रुपैयाँ पुगेको छ । बुधबार २२ करोड २ लाख ५१ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको थियो ।
बिहीबार कारोबारको सुरुमा नेप्से परिसूचक बढ्ने गति लिएपनि अन्तिम समयमा आएर १.६४ अङ्कको वृद्धि देखिँदै १३३९.६५ अङ्कमा रोकिएको छ । कारोबारको मध्यान्तरअघि नेप्से सूचक १३४७.८५ अङ्कसम्म चढेको थियो । बुधबार पनि नेप्से ४.१६ अङ्कले बढेर १३३८.०१ अङ्कमा रोकिएको थियो ।
नेप्सेमा वर्गीकृत १० समूह सूचकमध्ये ५ ओटा समूह सूचक घटेका छन् भने ५ ओटा समूह सूचक बढेका छन् ।
खासगरी बैङ्किङ २.२, होटल २.९, विकास बैङ्क २.७१, जलविद्युत् ४.७९ र बिमा सूचक २८.७२ अङ्कले बढेपछि समग्रमा नेप्से बढेको हो । त्यसैगरी व्यापार ४.९८, वित्त ०.२९, उत्पादनमूलक १५.९६, अन्य २.४७ र लघुवित्त ४.०२ अङ्कले घटेका छन् । बिहीबार ३ हजार ६ सय ६८ कारोबारबाट ५ लाख ७९ हजार ४१ कित्ता कारोबार भएको छ ।