एकाघरको खुद सम्पत्तिको १० प्रतिशतसम्म ऋण अब ब्रोकरबाटै

कार्यविधिमा सदस्य दलालले कुनै एक लगानीकर्ता (निजको एकाघरको परिवार समेत)लाई आफ्नो खुद सम्पत्तिको १० प्रतिशतसम्म मार्जिन कारोबार गर्न पाउने व्यवस्था छ । तर, त्यसरी ऋण दिने दलाल सदस्यको खुद सम्पत्ति कम्तीमा पाँच करोड रुपैयाँ हुनुपर्नेछ ।

नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिले बिहीबार मार्जिन ट्रेडिङ कार्यविधि पारित गरेसँगै लगानीकर्ताले दोस्रो बजारबाट सेयर खरिद गर्न ब्रोकर कम्पनी (दलाल सदस्य)बाट ऋण पाउने बाटो खुला भएको छ । कार्यविधिमा सदस्य दलालले कुनै एक लगानीकर्ता (निजको एकाघरको परिवार समेत)लाई आफ्नो खुद सम्पत्तिको १० प्रतिशतसम्म मार्जिन कारोबार गर्न पाउने व्यवस्था छ । तर, त्यसरी ऋण दिने दलाल सदस्यको खुद सम्पत्ति कम्तीमा पाँच करोड रुपैयाँ हुनुपर्नेछ ।

कार्यविधिअनुसार ब्रोकरले आफ्नो खुद सम्पत्तिमध्ये कम्पनी सञ्चालन र नियमित राफसाफका लागि २ करोड रुपैयाँ कम्पनीमा जगेडामा राख्नुपर्नेछ । त्यसभन्दा बढी सम्पत्ति भएमा मात्र ऋण लगानी गर्न पाउनेछ । यसरी ऋण दिँदा एउटा कम्पनीको सेयरमा १० प्रतिशतभन्दा बढी मार्जिन सेवा दिन पाइने छैन । त्यसका लागि नेप्सेले प्रत्येक आर्थिक वर्षका लागि मार्जिन कारोबारयोग्य धितोपत्रको सूची सार्वजनिक गर्ने र सूचीलाई प्रत्येक आर्थिक वर्ष सकिएको ७ महिनाभित्र अद्यावधिक गर्ने व्यवस्था गरिएको छ ।

झन्डै तीन अर्ब रुपैयाँको हकप्रद तथा बोनस सेयर सूचीकृत, कारोबार रकम आधा घट्यो

सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा यो साता ९ कम्पनीको दुई अर्ब ९० करोड ५२ लाख ५ हजार ३ सय रुपैयाँबराबरको दुई करोड ९० लाख ५२ हजार ५३ कित्ता हकप्रद तथा बोनस सेयर सूचीकृत भएको छ । सूचीकृत सेयरमध्ये सबैभन्दा बढी प्रभु बैङ्कको दुई करोड ११ लाख ९९ हजार ३ सय २१ कित्ता सेयर छ ।

प्रभुले केही समयअघि जारी गरेको ४० प्रतिशत हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । त्यसपछि मितेरी डेभलपमेन्ट बैङ्कको ११ लाख ९७ हजार ६९ कित्ता बोनस सेयर, पोखरा फाइनान्सको ९ लाख ८३ हजार ६ सय ८३ कित्ता हकप्रद, सिर्जना फाइनान्सको ९ लाख ८२ हजार ८ सय कित्ता बोनस, डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको ९ लाख ६९ हजार ७ सय ९४ कित्ता बोनस, साइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कको २७ लाख ५७ हजार २ सय ३१ कित्ता बोनस, प्रिमियम इन्स्योरेन्सको ६ लाख ९५ हजार ३ सय ९७ कित्ता बोनस, नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाको २ लाख ३ हजार ५ सय ६० कित्ता बोनस र सबैभन्दा कम समता माइक्रोफाइनान्स वित्तीय संस्थाको ६३ हजार २ सय कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

साताभर नेप्सेमा १ सय ७६ कम्पनीका १४ हजार २६ कारोबारबाट १८ करोड १९ लाख ४१ हजार रुपैयाँ बराबरका २३ लाख २९ हजार ४ सय ४० कित्ता सेयर खरिद बिक्री भएको छ । कारोबार रकम गत साताभन्दा ४५.९६ प्रतिशत कम हो । गत साता १ सय ८१ कम्पनीको २९ हजार ३ सय १९ कारोबारबाट २ अर्ब १९ लाख ९९ हजार रुपैयाँ बराबरका ४८ लाख १२ हजार ७ सय ७० कित्ता सेयर किनबेच भएको थियो ।

यो साता सिद्धार्थ बैङ्कको ७ करोड १ लाख ८० हजार रुपैयाँ कारोबार भएर सबैभन्दा बढी कारोबार हुने कम्पनीमा दरिएको छ । त्यसैगरी दुई लाख ११ हजार कित्ता सेयर कारोबार भएर सिद्धार्थ बैङ्क नै अग्रस्थानमा छ । तर, कारोबार सङ्ख्याका आधारमा भने नेपाल इन्भेस्टमेन्ट बैङ्क छ सय ५२ ओटा कारोबार गरेर अग्रस्थानमा छ ।