बुधबारदेखि नै नेकपा एमाले र एमाओवादी एकीकृत हुने तय भएको समाचारहरु आइरहे पनि बिहीबारको कारोबारमा त्यसको प्रभाव देखिएन । बिहीबार डेढ अङ्कको मात्रै वृद्धि देखिएको थियो । यसले पनि लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको देखाउँछ ।
बैशाख २७ गते (बिहीबार) १३४८.४५ अङ्कमा रहेको सेयर बजार सूचक बिहीबार (जेठ) ३ मा आइपुग्दा करिब ९ अङ्कले घटेर १३३९.६५ अङ्कमा रोकिएको छ । सातामा ४ दिन मात्र कारोबार भएको नेप्सेमा ३ दिन बजार ओरालो लाग्यो भने एक दिन सामान्य वृद्धि देखियो । तर, समग्र रुपमा बजार एक हिसाबले स्थिरजस्तै छ । खासै ठूलो परिवर्तन भएको छैन ।
रणनीतिक हिसाबले सत्तासीन राजनीतिक दल बिहीबार एकीकृत भएपनि त्यसको असर नेप्सेमा परेन । बुधबारदेखि नै नेकपा एमाले र एमाओवादी एकीकृत हुने तय भएको समाचारहरु आइरहे पनि बिहीबारको कारोबारमा त्यसको प्रभाव देखिएन । बिहीबार डेढ अङ्कको मात्रै वृद्धि देखिएको थियो । यसले पनि लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको देखाउँछ । जेठ ७ मा आउने नीति तथा कार्यक्रम र जेठ १५ को सङ्घीय बजेटले मात्रै अबको सेयर बजार कता लाग्छ भन्ने बाटो तय गर्ने सम्भावना देखिएको छ ।
त्यसो त नयाँ वर्षको सुरुआतसँगै बजारले लगानीकर्तालाई केही दिन निकै खुसी लिएर आयो । नयाँ वर्षपछिका ६ कार्य दिनसम्म सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) बढेर पछिल्लो कारोबारको उच्चतम (१४१०.८५) अङ्क प्राप्त गर्न सफल भयो पनि । तर, बजारले त्यसपछि लगानीकर्तामा फेरि निराशाका बादलहरु देखाउन थाल्यो । त्यसपछि घट्न थालेको नेप्से साढे १३ सयको अङ्क वरिपरि घुमिरहेको छ ।
पुँजीबजारको प्राकृतिक नियमै हो सँधै सिधा रेखामा नहिँड्ने र एकै ठाउँमा नबस्ने । त्यसले कतिपय तथ्य र यथार्थताहरुलाई समेत भुलेर अघि बढ्ने गर्छ । सेयर बजारलाई क्षणिक लाभको क्षेत्रको रुपमा भन्दा दीर्घकालीन लाभको क्षेत्रको रुपमा लिन सक्नुपर्छ । आफूले सेयर खरिद बिक्री गर्ने कम्पनीको बारेमा पर्याप्त जानकारी लिनुपर्छ । भविष्यमा आइपर्ने दुःखलाई आत्मसात गरेर उपयुक्त बजेट सेयर बजारमा विनिवेश गरे त्यसबाट पछुताउन पर्दैन ।
पुँजीबजारको कारोबारस्थल नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आधुनिकता र प्रविधि अँगाल्दै अनलाइन कारोबार प्रणाली कार्यान्वयको सङ्घारमा छ । बजार अहिले करिब स्थिरजस्तै देखिएको छ । बजारले बजेटलाई पर्ख र हेरका रुपमा लिएको छ । यसै अवसरमा बैशाख २६ गते पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले आयोजना गरेको ‘क्यापिटल एक्सपो’मा प्रायः नियामकहरु (अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैङ्क र बिमा समिति) एउटै मञ्चमा देखिएका छन् । यस्तो अवसर विरलै भेटिने गर्छ ।
कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडा लगानीकर्तालाई सचेत गराउनमै आफ्नो समय खर्चिए र अन्त्यमा ‘लगानी तपाईंले गर्ने हो, प्रतिफल वा घाटा पनि तपाईंले बेहोर्ने हो । त्यसैले घाटा भएका बेला सरकारलाई धारे हात लगाउन बन्द गर्नुस्’ भनेर सचेत बन्न आग्रह गरे । त्यसो त उनले एक करोड लगानीका लघुवित्त संस्था पुँजी बजारमा भित्रिने र अर्बौं रुपैयाँ लगानी भएको र त्यति नै नाफा गर्ने निजी क्षेत्र (सञ्चार, सिमेन्ट, स्टिल, हवाइजहाज आदि कम्पनी) हरु पुँजी बजारमा प्रवेश नगरेकोमा आक्रोशित मात्र भएनन्, सुरुमा बाहिरबाटै आग्रह गर्ने, त्यसपछि त्यस अनुकूलका कानुन तर्जुमा गर्दै कसरी उनीहरुलाई भित्र्याउनुपर्छ आफूले जानेको भनेर सम्बोधनको अन्त्यमा नियामक धितोपत्र बोर्डलाई सचेत भएर लाग्न आग्रह गरे ।
त्यसपछि गभर्नर डा चिरञ्जीवी नेपालले पुँजी बजारमा लगानी नगर्ने मानिस आधुनिक समाजको लगानीकर्ता नहुने भनेर बिना सन्दर्भ सेयर बजार जूवा घर नभएको र जूवा घर भन्नेहरु असली लगानीकर्ता होइनन् भनेर लगानीकर्तालाई एकप्रकारले उद्व्वेलित गर्न खोजिरहेका थिए । उनले धितोपत्र बोर्डले बोल्ने भाषा बोलेर आफू बोर्डको पूर्व अध्यक्ष भएको सन्देश दिन खोजेको देखिन्छ । अर्थमन्त्री र गभर्नरको सम्बोधनबीच अरु नियामक त्यसै ओझेलमा परे ।
गत वर्ष बैशाखमा बजार ओरालो लागेपनि जेठमा केही सम्हालिएको थियो । यस्तो हुनुमा बजेटको प्रभाव र चालू आर्थिक वर्ष सकिने समय नजिकिनु र यतिबेला बजारमा लगानी गर्दा छिटै नयाँ आर्थिक वर्ष सुरु हुन गई लाभ प्राप्त हुने धेरैको विश्लेषण रहन्छ र त्यसैअनुरुप सेयर खरिद बिक्रीमा संलग्न हुने गर्छन् ।
झन्डै २ दशकपछि मुलुकमा राजनीतिक स्थिरता आएको छ । मुलुक सङ्घीय संरचनामा गएको छ र आर्थिक विकासका काममा अब तीनै तह (सङ्घीय, प्रदेश र स्थानीय) हातमा हात मिलाएर अघि बढ्ने वातावरण बनेको छ । संवैधानिक व्यवस्थाअनुसार आगामी जेठ १५ गते सङ्घीय बजेट, असार १ गते प्रादेशिक बजेट र असार १० गते स्थानीय तहको बजेट सार्वजनिक भएपछि सङ्घीयता कार्यान्वयको जटिल पाटो सकिने र सङ्घीय व्यवस्थाअनुसार मुलुक अघि बढ्न मार्ग प्रशस्त हुन्छ । चालू आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धि दर विगतको तुलनामा राम्रो (५.८९ प्रतिशत) छ । आर्थिक वर्षको अन्त्य हुँदै गर्दा सरकारले गर्ने खर्च बढ्दो क्रममा छ । त्यसले तरलता (लगानीययोग्य रकम) र बैङ्क ब्याजमा सुधार हुने सङ्केतहरु देखिएका छन् ।
चालू आर्थिक वर्षको ९ महिनाको सूचीकृत अधिकांश कम्पनीहरुको कमाइ राम्रै देखिएको छ । बजारमा अनलाइन ट्रेडिङ छिट्टै गर्ने तयारीले बजार केही दिन प्रभावित हुनसक्छ । त्यसैगरी बजेटमा सेयर कारोबार र सेयर दलालको कमिसनमा मूल्य अभिवृद्धि कर लाग्ने या नलाग्ने एकिन भएपछि मात्रै बजारले एउटा गति समाउने सम्भावना छ ।