‘नेपालमा डिजिटल टीभीको युग सुरु भयो,’ डिसहोमका सीईओ सुदीप आचार्यसँगको अन्तर्वार्ता

डिजिटल टेलिभिजन केही महँगो पक्कै हो । क्वालिटीयुक्त नभए पनि साउन्ड त आइरहेकै छ भन्ने किसिमले मानिसले एनालग टेलिभिजन हेरेका हुन सक्छन् । तर पारदर्शी व्यापार गर्दा जसबाट सरकारलाई फाइदा हुन्छ, त्यसका लागि केही बढी लागत लाग्न सक्छ । सर्वसाधारणले पनि केही महँगो शुल्क तिर्नुपर्छ । यो स्वाभाविक पनि हो ।

नेपालमा डिजिटल टेलिभिजनको बहस सुरु गरेर सबैभन्दा धेरै ग्राहकको नेटवर्क बनाएको डिसहोमले नेपालमा एनालग केबलको युग अन्त्य गर्नलाई सहयोग पुर्याइरहेको छ भने भारतीय अवैध डीटीएचलाई विस्थापन गर्दै पनि लगेको छ । टेलिभिजन हेर्ने परिभाषा बदल्दै आएको डिसहोमले ग्राहकका लागि नयाँ नयाँ सुविधा पनि बढाउँदै लगेको छ । डिजिटल टेलिभिजनको अवस्था, डिसहोमको बजार र आगामी योजनाबारे क्यापिटल नेपालले डिसहोमका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्यसँग गरेको कुराकानी : 

सरकारले अहिले उपत्यकामा केबल एनागल टेलिभिजनलाई बन्द गर्यो । तपाईंहरु डिजिटलको बारेमा वकालत गर्दै आइरहनुभएको थियो । एनालग टेलिभिजन बन्द गराउन तपाईंहरुको भूमिका र लबिङ महत्त्वपूर्ण थियो भन्न मिल्छ ?

यसमा हाम्रो मात्र लबिङ होइन । हामीले बाटो मात्र देखाइदिएका हाैं । यसले सरकारलाई राजस्व बढेको छ । यसरी जाँदा सरकारलाई अझ बढी सपोर्ट गर्छ भनेर सघाएका हौं । हामीले मात्र गरेको भए यो सक्सेस हुँदैनथ्यो होला । हामीले चाहेअनुसार भएको भए त चार वर्षअघि नै आउँथ्यो होला । त्यसैले सबै आर्इटी इन्डस्ट्रीको रिक्वायरमेन्ट भएका कारण एनालग टेलिभिजन बन्द भएको हो । आखिर यसले सरकारलाई नै त फाइदा पुगिरहेको छ । हामीले सरकारलाई समयसमयमा घचघच्याइरहेका भने थियौं । हामीले भनेअनुसार भइदिएको भए त भूकम्प गएको वर्ष नै सरकारले डिजिटलाइजेसनमा जाने भनेको थियो । तर त्यसो त भएन । केबलहरुको ७ सय अाेटा लाइसेन्स थियो । न नियमन न अनुगमन । न त राजश्वमा फाइदा बढिरहेको थियो । त्यसैले डिजिटलको बहस छिटो हुन आवश्यक थियो । ढिलो भए पनि सुरु भएको छ ।

धेरै कम्पनीले आफ्नो सेवा सुरु गरेपछि ग्रामीण क्षेत्रमा जान समय लाग्छ तर डिसहोम सुरुदेखि अहिलेसम्म ग्रामीण क्षेत्रमा नै तीव्र विस्तार भयो । कसरी ?

हामीले सुरुदेखि नै डिजिटल सेवा सुरु गरेको हो । अहिले डिजिटलाइजेसनमा जानुपर्ने अवस्था छ । यसले सरकार, उपभोक्ता, कम्पनी सबैलाई फाइदा हुन्छ । सुरुमा सरकाले पहल गरेन । हामीले सुरु गरेका थियौं र डिजिटलको बहस पनि हामीले नै गर्यौं । विज्ञापन गरेर डिजिटलको फाइदा कस्तो हुन्छ भनेर बुझाउन थाल्यौं । गाउँमा विकल्प थिएन । सरकारले सेवा पुराउन सकेको थिएन । केवल टेलिभिजनको झन्झटिलो सेवा थियो । हामी पुरा नेपाललाई सेवा दिने गरेर आयौं । सहरमा केवल टेलिभिजनहरुको प्रतिस्पर्धा थियो । केवल टेलिभिजनहरु बाक्लो बस्ती भएको ठाउँमा मात्र उपस्थिति जनाएका थिए । उनीहरु ग्रामीणमा गइरहेका थिएनन् । हामी विकल्प भएर आयौं । ग्रामीण बस्तीमा हाम्रो सेवा छिटो पुग्यो ।

सर्वसाधारणले एनालग टेलिभिजन धेरै लामो समयसम्म हेरे । अझै पनि काठमाडौं बाहिर सरकारले कडाइ गरेको छैन । डिजिटल टेलिभिजन महँगो छ भन्ने गरिन्छ ? के महँगो भएकै कारण डिजिटल टेलिभिजन ले एनालगलाई विस्थापित गर्न नसकेको हो ?

डिजिटल टेलिभिजन केही महँगो पक्कै हो । क्वालिटीयुक्त नभए पनि साउन्ड त आइरहेकै छ भन्ने किसिमले मानिसले एनालग टेलिभिजन हेरेका हुन सक्छन् । तर पारदर्शी व्यापार गर्दा जसबाट सरकारलाई फाइदा हुन्छ, त्यसका लागि केही बढी लागत लाग्न सक्छ । सर्वसाधारणले पनि केही महँगो शुल्क तिर्नुपर्छ । यो स्वाभाविक पनि हो ।

भारतीय अवैध डीटीएच पनि नेपालभित्र अझै छन् । यसलाई कसरी लिनुहुन्छ ?

तराईका कतिपय स्थानमा धेरै इन्डियन डीटीएच हेरिरहेको अवस्था छ । काठमाडौंमा पनि फाट्टफुट्ट देखा परिरहेका छन्, जसले गर्दा नेपाल सरकारलाई राजस्वलगायतमा असर पुगिरहेको छ । हामीले सुरु सुरुमा भारतीय डीटीएच लिएर त्यसको सट्टमा डिसहोमको सेवा दिइरहेका थियौैं । यस्ता कुरामा हामीले भन्दा पनि बढि सरकारले ध्यान दिनुपर्छ । तिनको नियमन हुनु आवश्यक छ । हामीले हाम्रो तर्फबाट उत्कृष्ट सेवा दिएका छौं । नेपालभर पुराएका छौं । सरकारले पनि आफ्नो उपस्थिति त्यहि अनुसार गर्नुपर्छ ।

यस्ता विषयमा डिसहोमले सरकारसँग मिलेर केही काम अघि बढाएको छैन ?

यस्ता विषयमा हामी मात्र लागेर हुँदैन । यसका लागि सरकारले नै इनिसिएसन लिएर काम गर्नुपर्छ । उसले नै त्यसमा प्रभावकारी काम गर्नुपर्छ । हामीले सरकारले गर्नुपर्ने कतिपय चेतनाबृद्धिको काम भने गरेका छौं ।

अवैध डीटीएच बन्द गर्दा पनि तपाईंहरुलाई फाइदा पुग्ने, केबल टेलिभिजन बन्द गर्दा पनि डिसहोमलाई नै फाइदा हुने रहेछ है ? प्रतिस्पर्धी पनि कम छन् ।

अहिले हामीलाई मात्र फाइदा हुने अवस्था छैन । बजारमा हाम्रो एकाधिकार छैन । पहिले पनि थिएन । हामीले पहिलेदेखि नै भन्दै आएका छौं— अरुभन्दा हामी राम्रो हौं । त्यसैले डिसहोम हेर्नुहोस् भनेका थियौं । तिमीहरुको केबल टेलिभिजन राम्रो छैन भनेका त थिएनौं । अहिले डीटीएच सेवा दिने १५/१६ ओटा कम्पनी आएका छन् । उनीहरु पनि फाइदा देखेरै यो क्षेत्रमा आएका हुन् । अहिले सेवा डिजिटल भएको छ । उनीहरुले पनि आआफ्नो बजार जमाउँदै छन् ।

तपार्इंहरुबीच प्रतिस्पर्धा कस्तो छ ? ग्राहकले पनि सेवा परिवर्तन गरिरहेको अवस्था छ कि छैन ?

बजारमा अहिले सहज विकल्प धेरै छन् । धेरै कम्पनी आएका छन् भने केही आउने पनि क्रममा होलान् । तर जे भए पनि उत्कृष्ट सेवाका कारण हामी यसमा जम्दै छौं । हामीले रेकर्ड सुविधा दिएका छौं । हामीले नयाँनयाँ फिल्म पनि दिएका छौं । अहिले प्रतिस्पर्धा पनि बढ्दै गएको छ । हामी जहिले पनि सेवाग्राही बढाउने अभियानका साथ अघि बढेका छौं । अरुले भएका ग्राहकलाई स्थिर राख्ने, नघटाउने नीति लिएका छन् भने हामीचाहिँ बढीभन्दा बढी सेवाग्राहीबीच जाने र उनीहरुलाई उत्कृष्ट सेवा प्रवाह गर्ने काममा प्रतिबद्ध छौं । बजारमा सञ्चालनमा रहेका विभिन्न कम्पनीहरुको आआफ्नै बजार हिस्सा छ । एउटा कुनै नयाँ कम्पनी आउँदै अरु सबै डराउनुपर्छ भन्ने छैन । खुला बजारको नियम नै हो, जसले आफ्ना ग्राहकलाई रिझाएर राख्न सक्छ, उसले नै हो जित्ने । उसले नै हो सफलता हासिल गर्ने । हामी यस विषयमा प्रस्ट छौं । हामीलाई चुनौती नभएको होइन, छन् । त्यसैले हामी कसरी हुन्छ, ग्राहकमुखी भएर अघि बढेका छौं ।

तपार्इंहरुले आफ्नै नयाँ च्यानल पनि चलाइरहनुभएको छ ? यो कत्तिको प्रभावकारी भइरहेको छ ?

यो हामीले चलाउनेभन्दा पनि हामीले एक्सेस दिइरहेका हौं । त्यो अहिले डिसहोमको देखिएको छ । तर हामीले त्यसलाई इन्डिपेन्डेन्ट रुपमा अघि बढाएका छौं । त्यसका लागि नयाँ जनशक्ति राखिएको छ । सबै कुरा त्यहाँ छुट्टै छ । त्यो भविष्यमा अर्कै रुपमा पनि प्रस्तुत हुन सक्छ । कम्पनी पनि छुट्टै छ । अपरेसन टिम पनि छुट्टै छ ।

भनेपछि के तपाईंहरु पनि समाचार च्यानलमा जाने तयारी गर्नुभएको हो ?

त्यो असम्भव छैन । जान पनि सकिन्छ ।

डिसहोमको सेवा सामान्य हावाहुरीमा पनि प्रभावित हुन्छ । साथै कुनै दिन दुईचार घण्टा, पाँचसात घण्टा तपाईंहरुको सेवा बन्द पनि भएको छ । तर ग्राहकले अग्रिम भुक्तानी गरिरहेका हुन्छन्, त्यसका लागि तपाईंहरुले ‘कम्पेन्सेसन’ कसरी गर्नुभएको छ ?

कहिलेकाहीँ एकदुई घण्टा हाम्रो सेवामा समस्या आए पनि त्यो लामो समयसम्म रहँदैन । हाम्रो अपरेसनको अप टाइम हन्ड्रेड पर्सेन्ट छ । कहिलेकाहीँ सेवामा समस्या हुने भनेको त्यो जिरो पोइन्ट जिरो १ प्रतिशत हो । त्यो पनि हामी राति १२ बजेपछि मात्रै सिस्टम आदिको मर्मत गरिरहेका हुन्छौं । च्यानलको हकमा भने चट्याङ प¥यो भने त्यसलाई टीभीलाई पनि असर गर्न सक्छ । हामी प्रिपेड सिस्टममा छौं । एक महिनाको रिचार्ज गरेर त्यसपछि गर्दिनँ पनि त भन्न सक्छन् । हामीले पछिभन्दा पनि सुरुमै सेवा लिँदै गर्दा प्राइसमै कम्पेन्सेसन दिइरहेका छौं । ग्राहकहरुको डिसहोमप्रति गुनासो छैन ।

डिसहोममा स्टार्ट गर्दा, मेनुमा जाँदा, च्यानल चेन्ज गर्दा र स्क्रोलमा पनि बढी विज्ञापन आयो भन्ने गुनासो छ नि, यसले कन्टेनलाई असर गर्यो भन्ने ग्राहकको गुनासो छ । बढी नाफामुखी हुनुभएको हो तपाईंहरु ?

हामी व्यावसायिक भएको पक्कै हो । तर हामी सबै पैसामुखी भएको भन्ने आरोप सत्य होइन । केही रुपमा हामीले विज्ञापन गरिरहेका छौं । कम्प्युटर स्टार्ट गरेजस्तै केही निश्चित टाइम लाग्ने अवस्थामा मात्र हामीले विज्ञापन दिएका हौं । यस्तो काम अरुले पनि गरिरहेका छन् । डिजिटल अपरेटरहरुले पनि विज्ञापन गरिरहेको अवस्था छ । कानुनी रुपमा पनि यसलाई नराम्रो मानिँदैन । हामीले बुट अप टाइम मात्र प्रयोग गरिरहेका हौं ।

यति धेरै विज्ञापनमा पनि गइरहनुभएको छ । विज्ञापनको बजार पनि बढिरहेको छ । तर क्लिन फिडको विरोध पनि गरिरहनुभएको छ नि ?

कुरा यस्तो हो, यस विषयमा आनले आवाज उठाइरहेको हो । ऊ स्पष्ट भएर आएको छैन । कुनै पनि विदेशी च्यानल छन्, त्यसमा नेपाली विज्ञापन बज्नुप¥यो । ऊ त्यसो भन्दैन । उसले विज्ञापन नै हुनुहुँदैन भन्छ । यो संसारमै नभएको कुरा हो । यो कुरा भारतमै छैन । अमेरिकामा पनि छैन । त्यसैले क्लिन फिड लागू गर्नुपर्छ भन्ने कुरा जायज छैन । त्यो कुरामा नेपाली विज्ञापनमा पनि लागू हुनुपर्छ । यस विषयमा आनले आफू दोधारे भएकाले समस्या भएको हो । उनीहरु भन्छन्, मान्छेले पैसा तिरेर हेरेपछि पनि विज्ञापन हेर्नुपर्ने ? यो हास्यास्पद छ । तपाईंले कुनै पत्रिका हेर्नुहुन्छ, त्यसमा पनि विज्ञापन हेर्नुहुन्छ, नहेर्ने भन्ने त हुँदैन नि ।

डिसहोमका योजना केके छन् ?

‘टीभी एनिह्वेर’ च्यानल लन्च गर्ने योजना छ । यो एउटा मोबाइल एप्स हो । यसले ग्राहकलाई हाम्रा प्रडक्ट मोबाइल, ट्याब, आदिमै उपलब्ध गराउँछ । डिसहोम जडान गर्नेहरुले त्यसलाई निःशुल्क प्रयोग गर्न पाउनुहुनेछ । यसका लागि एकदुई महिना लाग्छ । कन्टेन्टमा पनि हामी अझ प्रभावकारी भएर आउँदै छौं ।