सेयर बजार घट्दो ट्रेन्डमा, कारोबार रकम पनि घट्यो

लगातार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ओरालो लागेको मात्र छैन, कारोबार रकममा पनि भारी गिरावट आएको छ ।

यो साताको चौथो दिन बुधबार पनि सेयर बजार ओरालो लागेको छ । लगातार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ओरालो लागेको मात्र छैन, कारोबार रकममा पनि भारी गिरावट आएको छ । नेप्से बुधबार ४.५५ अङ्कले घटेर १३२८.२७ अङ्कमा रोकिएको छ । कारोबारको सुरुवातदेखि नै घट्न थालेको बजार अन्तिम समयसम्म नै घटेको छ ।

आगामी आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम आउँदा पनि बजारमा सकारात्मक असर देखिएको छैन । नीति तथा कार्यक्रमले सेयर लगानीकर्तालाई आकर्षित नगरेपछि आगामी जेठ १५ मा आउने बजेटसम्म सेयर बजार सामान्य ढङ्गले न्यून मात्रामा घट्दै जाने सङ्केत गरेको छ । पछिल्ला ४ दिनमा ठूलो झट्का नदिई सामान्य हिसाबले मात्रै बजार घटिरहेको छ ।

बुधबार नेप्सेमा वर्गीकृत उपसूचकमध्ये अन्य २.३२ र लघुवित्त ५.५७ अङ्कले बढेकोबाहेक सबै उपसूचक ओरालो लागेपछि त्यसको असर नेप्सेमा परेको हो । बुधबार बैङ्किङ ६.१२, विकास बैङ्क ५.५८, जलविद्युत् २.९१, वित्त २.६९, बिमा २६.५७, उत्पादनमूलक १४.५८ र होटल ५.०४ अङ्कले घटेको छ ।

बुधबार कारोबार रकम भने ठूलो अन्तरले कमी आएको छ । यस दिन ३ हजार ६ सय ३० कारोबारबाट ६ लाख ८८ हजार ९ सय २० कित्ता सेयर खरिदबिक्री भई २९ लाख ६३ लाख ७ हजार ९ सय ३७ रुपैयाँ (म्यानुअल कारोबार ४ लाख ७० हजार ६ सय १२ रुपैयाँसमेत) बराबरको सेयर कारोबार भएको छ । मङ्गलबार ३ हजार ८ सय ८३ कारोबारबाट १० लाख ५८ हजार ७५ कित्ता सेयर खरिदबिक्री भई ५३ करोड ८३ लाख ७४ हजार १ सय ८४ रुपैयाँबराबर (१९ लाख ३० हजार ८ सय २१ रुपैयाँ म्यानुअल कारोबारसमेत)को कारोबार भएको थियो ।