दोहोरो अङ्कले घट्यो बजार, कारोबार रकममा सामान्य वृद्धि

आगामी आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम आए पनि लगानीकर्ता उत्साहित भएको देखाउँदैन र बजार निरन्तर घटिरहेको छ ।

यो साताको पाँचौ दिन बिहीबार पनि सेयर बजार ओरालो लागेको छ । सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १०.०५ अङ्कले घटेर १३१८.२२ अङ्कमा खुम्चिएको छ । नेप्से बुधबार ४.५५ अङ्कले घटेर १३२८.२७ अङ्कमा रोकिएको थियो । बिहीबार कारोबार सुरु भएको केही समयपछि बढ्ने रफ्तारमा गए पनि अन्तिममा दोहोरो अङ्कले घटेर लगानीकर्तालाई ठूलो झट्का दिएको छ ।

आगामी आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम आए पनि लगानीकर्ता उत्साहित भएको देखाउँदैन र बजार निरन्तर घटिरहेको छ । बिहीबार घटेको बजारमा पनि सबैभन्दा बढी जेविल्स फाइनान्सको करिब ६ प्रतिशत मूल्य बढेर कारोबार भयो भने किसान माइक्रोफाइनान्सको सबैभन्दा बढी करिब ६ प्रतिशतले मूल्य घटेको छ ।

बिहीबार नेप्सेमा वर्गीकृत १० उपसूचकहरुमध्ये व्यापार २.९६ अङ्क र उत्पादनमूलक समूह ११.४१ अङ्कले बढेर अन्य ८ ओटा उपसमूह घटेपछि त्यसको प्रभाव नेप्सेमा परेको हो । बिहीबार बैङ्किङ ७.४६, विकास बैङ्क १४.५३, जलविद्युत् १२.७१, वित्त ०.६३, बिमा ६२.३४, होटल ४.९३, अन्य ४.७७ र लघुवित्त ३३.९८ अङ्कले घटेका छन् ।

बिहीबार १ सय ६१ कम्पनीको ४ हजार ४ सय २६ कारोबारबाट ७ लाख ९१ हजार ७ सय २८ कित्ता सेयर किनबेच भई ३७ करोड ३५ लाख ६२ हजार १ सय ४१ रुपैयाँबरारको कारोबार भएको छ । कारोबार रकम बुधबारको तुलनामा भने बढी हो । बुधबार ३ हजार ६ सय ३० कारोबारबाट ६ लाख ८८ हजार ९ सय २० कित्ता सेयर खरिद बिक्री भई २९ करोड ३ लाख ७ हजार ९ सय ३७ रुपैयाँ (म्यानुअल कारोबार ४ लाख ७० हजार ६ सय १२ रुपैयाँसमेत) बराबरको कारोबार भएको थियो छ । बिहीबार सबैभन्दा बढी कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैङ्कको २ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।