सुरुमा ५० अङ्क बढेर १२० अङ्कको झट्का

खासगरी नेपाल कम्युनिस्ट पार्टीको बहुमतसहितको एकमना सरकारको गतिविधिलाई सेयर बजारका लगानीकर्ताले नजिकबाट हेरिरहेका छन् ।

साताको ५ दिन नै सेयर कारोबार भएको सेयर मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) पाँच दिन नै घटेको छ । अघिल्लो बिहीबार १३३९.६५ अङ्कमा रहेको नेप्से यो साताको बिहीबार कारोबार बन्द हुँदा १३१८.२२ अङ्कमा थामिएको छ ।

खासै ठूलो उथलपुथल नभए पनि सामान्य हिसाबले साताभर नै सेयर सूचक घटिनै रह्यो र साताभित्र २१.४३ अङ्कले तल झर्यो । खासगरी नेपाल कम्युनिस्ट पार्टीको बहुमतसहितको एकमना सरकारको गतिविधिलाई सेयर बजारका लगानीकर्ताले नजिकबाट हेरिरहेका छन् । सरकारले कसरी आफ्ना कार्यक्रम अघि बढाउँछ लगानीकर्ता त्यही हिसाबमा खरिद बिक्रीमा सक्रिय हुने परिस्थिति सिर्जना भएको छ ।

सरकारको सय दिनको अवधिभित्र नेप्सेमा ठूलै उतारचढाव भएपनि पछिल्लो समय भने सामान्यजस्तै देखिएको छ । वर्तमान सरकार निर्माण हुने अघिल्लो दिन फागुन २ गते १३८८.९४ अङ्कमा रहेको नेप्से नेकपाका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएकै दिन फागुन ३ गते ३६ अङ्कले वृद्धि भयो । तर, त्यो वृद्धि एक दिन पनि टिकेन ।

त्यसैगरी फागुन १६ मा अर्थमन्त्री बनेका डा युवराज खतिवडाले एउटा सञ्चारमाध्यमलाई दिएको अभिव्यक्तिलाई लिएर सेयर बजारमा निकै तरङ्ग ल्यायो । त्यसपछि सेयर बजार झनै नकारात्मक बन्दै गयो । २०७४ चैत १२ गते ११६८.५५ अङ्कसम्म झरेको बजार विस्तारै ‘बाउन्स ब्याक’ हुँदै बैशाख ९ मा १४३८.४९ अङ्कसम्म चढेको थियो । तर, त्यसयता बजारमा खासै उत्साह देखिएको छैन ।

यही बीचमा सरकारले गत जेठ ७ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सेयरबजारलाई गतिशील बनाइने मात्रै उल्लेख गरिएपछि यो साताभर नै बजार ओरालो लागेको छ । कम्युनिस्ट पार्टीको सरकार बनेको सय दिनमा विशेष गरी सेयर दलालको कमिसनमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने विषयले निकै चर्चा पायो । त्यसैलाई कतिपय टाठाबाठा लगानीकर्ताले विभिन्न कोणबाट उचालेर व्यक्तिगत लाभ प्राप्त गर्न लागिपरे । यद्यपि यो विषयको यथार्थ परिस्थितिको आँकलन र निदान भइसकेको छैन ।

त्यसैगरी यही बीचमा तरलता (लगानीयोग्य रकम)को अपर्याप्तताले बैङ्कको ब्याजदर तीव्र गतिमा बढ्यो । ब्याजदर बढ्न पुग्दा कतिपय लगानीकर्ताले सेयर लगानी गर्नुभन्दा निक्षेपमा राखेर बढी ब्याज प्राप्त हुने र सुरक्षित लगानीका रुपमा लिन थाले । त्यसले पनि यो अवधिमा सेयर कारोबारमा ठूलै समस्या सिर्जना गर्न पुगेको छ ।

सातामा ७८ प्रतिशतले कारोबार रकम वृद्धि

यो साता नेप्सेमा १ सय ८३ कम्पनीका १९ हजार ७ सय १३ कारोबारबाट ४१ लाख ३७ हजार चार सय ३० कित्ता सेयर खरिद बिक्री भई १ अर्ब ९२ करोड २७ लाख ३१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकम गत साताभन्दा ७७.७१ प्रतिशत बढी हो । गत साता १ सय ७६ कम्पनीको १४ हजार २६ कारोबारबाट २३ लाख २९ हजार ४ सय ४० कित्ता सेयर खरिद बिक्री भई १ अर्ब ८ करोड १९ लाख ४१ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

यो साता कारोबार सङ्ख्या, कित्ता र रकम तीनै आधारमा नेपाल इन्भेस्टमेन्ट बैङ्क अग्रस्थानमा छ । यो साता इन्भेस्टमेन्ट बैङ्कको ७ सय २९ कारोबारबाट ३ लाख ९६ हजार कित्ता सेयर खरिद बिक्री भई २२ करोड ८५ लाख रुपैयाँबराबरको कारोबार भएको छ । सातभरमा नेपाल इन्भेस्टमेन्ट बैङ्कपछि बढी कारोबार हुने ५ कम्पनीभित्र स्वरोजगार लघुवित्त विकास बैङ्क ६ करोड ९९ लाख ७० हजार, लक्ष्मी बैङ्क ५ करोड ८३ लाख ३० हजार, कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैङ्क ५ करोड ३६ लाख ८० हजार र नेपाल बङ्गलादेश बैङ्कको ४ करोड ७७ लाख १० हजार रुपैयाँ छन् । पाँचै दिन कारोबार भएको नेप्सेमा ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।