वामको जितबाट तर्सिएकै हो सेयर बजार ?

आइतबार नेप्से परिसूचक १५ सय ३० अङ्कमा झरेको छ । यो दिन उत्पादनमूलक र ‘अन्य’ समूहबाहेक सबै समूहगत परिसूचक ओरालो लागेका छन् । कारोबार खुल्दाबित्तिकै केही उकालो लागे पनि १५ सय ५५ अङ्कमा पाएको प्रतिरोधपछि नेप्से लगातार २५ अङ्क ओर्लिएको छ ।

प्रदेशसभा र प्रतिनिधिसभामा वाम गठबन्धनले जित निकालेपछि सेयर लगानीकर्तामा सामान्य सन्त्रास देखिएको छ । चुनावपछि पहिलो पटक खुलेको सेयर बजार आइतबार ६ अङ्क (शून्य दशमलव ४ प्रतिशत) घटेको छ । चुनावको अघिल्लो दिन बुधबार भने नेप्से १२ अङ्कले बढेको थियो ।
यसअघि निर्वाचनबाट राजनीतिक स्थायित्वको अवस्था आउने र त्यसले आर्थिक गतिविधिमा सहयोगी भूमिका खेल्ने भन्दै सेयर लगानीकर्ताले निर्वाचनलाई आशाका दृष्टिले हेरेका थिए । सामान्यतया नेपालमा निर्वाचनपछि सेयर बजार उकालो लाग्ने गरेको पनि थियो । तर २०६४ को निर्वाचनमा जस्तै अहिले पनि सेयर बजार ‘रातो’ देखिएको छ ।

चुनाव अघिदेखि नै केही ब्रोकरहरुले सेयर बजारमा ‘हट मनी’ परिचालन गरेर अत्यन्त अल्पकालीन व्यापारबाट नाफा सुरक्षित गर्ने लगानीकर्ताले सेयर बजारमा भएको लगानी फिर्ता गर्न चाहिरहेको बताएका थिए । वाम गठबन्धनले मिलेर चुनावमा भाग लिने भएपछि सुरुका दिनमा नेप्से ऋणात्मक देखिनुमा त्यसको कारण थियो ।

तर निर्वाचन नजिकिँदै जाँदा तल्लो तहका कार्यकर्तामा वाम गठबन्धनको तीव्र प्रभाव विस्तार हुन नसकेको सूचनाहरु आएका थिए । यस्ता सूचनाले लगानीकर्तामा केही मनोबल बढायो र सेयर बजारमा सुधार आएको थियो । तर, हालसम्म मतगणना सकिएका ९७ निर्वाचन क्षेत्रमध्ये ७५ क्षेत्रमा वाम गठबन्धनले जित निकालेको छ । मतपरिणामहरुले वाम गठबन्धनलाई अबको ५ वर्ष सहजै सरकारको नेतृत्व गर्ने बाटो खुलेको देखिन्छ । यसबाट सेयर लगानीकर्ता डराएको ब्रोकरहरु बताउँछन् ।

‘कम्युनिस्टहरुले आफू शक्तिमा पुगेपछि अनुकूलता मिलाएर निजी सम्पत्तिमाथि धावा बोल्न सक्छन् भन्ने त्रास अझै पनि एक खालका लगानीकर्तामा देखिन्छ,’ एक ब्रोकरले भने, ‘सेयर बजारमा धेरै ठूलो पुँजी परिचालन गर्ने त्यस्ता लगानीकर्ताले हात झिकिदिँदा सेयरको मागमा स्वाभाविक रुपले गिरावट आउँछ ।’

तर आगामी दिनमा निरन्तर बजार ओर्लिने सम्भावना भने कम छ । ‘अहिलेभन्दा केही तल त झर्ला, तर विस्तारै सामान्यीकरण हुन्छ,’ अर्का ब्रोकर भन्छन् । लगानीकर्ताहरुले विभिन्न स्रोतबाट प्राप्त सम्पत्तिलाई सेयर बजारमा परिचालन गर्नुपर्ने भएकाले पनि यो बजारमा कम्युनिस्ट सरकारको कस्तो दृष्टिकोण हुन्छ भन्ने स्पस्ट नभएसम्म ठूला लगानीकर्ता ढुक्क हुन नसक्ने ती ब्रोकरको भनाइ छ ।

आइतबार नेप्से परिसूचक १५ सय ३० अङ्कमा झरेको छ । यो दिन उत्पादनमूलक र ‘अन्य’ समूहबाहेक सबै समूहगत परिसूचक ओरालो लागेका छन् । कारोबार खुल्दाबित्तिकै केही उकालो लागे पनि १५ सय ५५ अङ्कमा पाएको प्रतिरोधपछि नेप्से लगातार २५ अङ्क ओर्लिएको छ । यस दिन कारोबार रकम भने केही सुधार भएको छ । ५०–६० करोड रुपैयाँको व्यापार हुँदै आएको नेप्सेमा आइतबार ८७ करोड ७० लाख ७० हजार रुपैयाँको व्यापार भयो ।