बजेट आउने दिन नजिकिँदै गर्दा सेयर बजारमा पहिरो

जेठ ७ गते सरकारको नीति तथा कार्यक्रममा सेयर बजारलाई गतिशील बनाइने उल्लेख गरिए पनि त्यसले लगानीकर्तालाई रिझाउन पर्याप्त भएन । त्यति मात्र होइन, अर्थमन्त्री डा. युवराज खतिवडाले आइतबार सङ्घीय संसद्मा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस गर्दा सेयर बजार स्थिरता उन्मुख बताए पनि बजार तीव्र घटेर कारोबार बन्द भएको छ ।

जतिजति आगामी आर्थिक वर्ष (२०७५/७६)को सङ्घीय बजेट आउने दिन नजिकिँदै गएको छ, त्यतित्यति सेयर बजारमा पहिरो जान थालेको छ । गत साताभर निरन्तर घटेर बजार यो साता आइतबार पनि ठूलो धक्का दिएको छ ।

आइतबार सङ्घीय संसद्बाट सरकारको नीति तथा कार्यक्रम पारित भइरहँदा सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) भने तीव्र गतिमा घटिरहेको थियो । त्यसैको परिणाम ३ बजे बजार बन्दा हुँदा नेप्से १७.८१ अङ्क (१.३५ प्रतिशत)ले घटेर १३००.४१ अङ्कमा थामिएको छ । त्यसो त गत साता पाँचै दिन बजार खस्किँदा पनि २१.४३ अङ्कले झरेको थियो । जेठ ७ गते सरकारको नीति तथा कार्यक्रममा सेयर बजारलाई गतिशील बनाइने उल्लेख गरिए पनि त्यसले लगानीकर्तालाई रिझाउन पर्याप्त भएन । त्यति मात्र होइन, अर्थमन्त्री डा. युवराज खतिवडाले आइतबार सङ्घीय संसद्मा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस गर्दा सेयर बजार स्थिरता उन्मुख बताए पनि बजार तीव्र घटेर कारोबार बन्द भएको छ ।

आइतबार नेप्सेमा वर्गीकृत १० उपसमूहमध्ये व्यापार ०.८४ अङ्कले बढेर अन्य सबै ९ उपसूचकमा गिरावट आएपछि त्यसले समग्र नेप्सेलाई प्रभावित बनाएको हो । आइतबार सबैभन्दा बढी बिमा सूचकमा गिरावट आएको छ । बिमा सूचक १२२.७९ अङ्कले घट्दा दोस्रोमा रहेको होटल ४१.४८ अङ्कले खस्किएको छ । त्यसैगरी जलविद्युत् ३०.०५, लघुवित्त २७.९२, बैङ्किङ १३.२२, विकास बैङ्क १३.११, अन्य १२.९१, वित्त ४.२६ र उत्पादनमूलक समूह ०.४७ अङ्कले घटेको छ ।

आइतबार ४ हजार ९ सय ५० कारोबारबाट १० लाख २३ हजार ७ सय ३६ कित्ता सेयर खरिदबिक्री भई ३९ करोड ६८ लाख ६७ हजार ७ सय ५२ रुपैयाँ (म्यानुअल कारोबार ३४ लाख २० हजार रुपैयाँसमेत)को कारोबार भएको छ । यो कारोबार रकम गत साताको औसत कारोबार ३८ करोड ४५ लाख ४६ हजार रुपैयाँभन्दा सामान्य बढी हो । आइतबार सबैभन्दा बढी कारोबार ग्लोबल आईएमई बैङ्कको ४ करोड ६० लाख १२ हजार ७ सय ११ रुपैयाँबराबरको कारोबार भएको छ ।