खाडी तथा मलेसियाका लागि नेपालजस्तै कामदारको स्रोत मुलुक रहेको श्रीलङ्काले नेपाली कामदार लिन थालेको छ ।
सार्क राष्ट्र श्रीलङ्कामा पहिलोपटक श्रम स्वीकृति लिएर संस्थागत रुपमा नेपाली कामदार पुगेका हुन् । नेपालको मदिना इन्टरनेसनल म्यानपावर कम्पनीले श्रीलङ्काको साङ्केन कन्स्ट्रक्सन कम्पनीका लागि कामदार पठाएको हो ।
संस्थागत रुपमा पहिलोपटक कामदार श्रीलङ्का जाने भएपछि वैदेशिक रोजगार प्रबद्र्धन बोर्डले टिकट र सेवाशुल्क कामदार लिने कम्पनीले बेहोरेको खण्डमा शून्य लागतमा पठाउन सकिने निर्णय गरेको छ । सोही निर्णयको आधारमा मदिनाले कामदार पठाउन थालेको हो ।
बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले नेपालबाट पहिलोपटक संस्थागत रुपमा श्रीलङ्का कामका लागि पुगेको बताए । ‘नयाँ गन्तव्य मुलुक र नयाँ माग भएपछि बोर्डले तत्कालका लागि हवाईटिकट र सेवाशुल्क कामदार लिने कम्पनीले बेहोरेको खण्डमा शून्य लागतमा पठाउन सकिने निर्णय गरेको छ,’ उनले भने । भविष्यमा फेरि नयाँ माग भएमा नयाँ निर्णय हुने उनले बताए ।
श्रीलङ्कामा पहिलो चरणमा १५ जना कामदार पुगेको र २ सयभन्दा बढी कामदार जानका लागि प्रक्रिया भैरहेको मदिना इन्टरनेसनलका प्रबन्ध निर्देशक सुवर्ण श्रेष्ठले बताइन् । ‘मलेसिया तथा खाडी मुलुककै तलब र सुविधामा कामदार श्रीलङ्का पुगेका हुन्,’ उनले भनिन् ।
नेपालबाट बर्सेनि ५ लाखभन्दा बढी युवा कामको खोजिमा विभिन्न मुलुक पुग्ने गरेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरुङले संस्थागत रुपमा कामदार पठाउने नयाँ गन्तव्य मुलुकमा श्रीलङ्का थपिएको बताए ।