खासगरी सरकारको आगामी आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम सार्वजनिक भएर पारित हुँदासमेत निरन्तर गिरावट देखिएको सेयर बजारमा सोमबार एकाएक चामत्कारिक परिवर्तन हुनुलाई आश्चर्य मानिएको छ ।
गत साताको सुरुदेखि निरन्तर ओरालो लागेको सेयर बजार सोमबार भने एकाएक बढेको छ । जेठ १५ (भोलि) बजेट आउने भए पनि आजै बजार एकाएक बढेको छ । नेपाल कम्युनिस्ट पार्टी र सङ्घीय समाजवादी फोरमबीच संविधान संशोधन र फारम सरकारमा सहभागी हुने गरी भएको दुई बुँदे सम्झौतासँगै सेयर बजारले एकाएक नयाँ गति समातेको हो । यसबाहेक राजनीतिक तथा आर्थिक रुपमा कुनै नयाँ गतिविधि सतहमा आएको छैन ।
खासगरी सरकारको आगामी आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम सार्वजनिक भएर पारित हुँदासमेत निरन्तर गिरावट देखिएको सेयर बजारमा सोमबार एकाएक चामत्कारिक परिवर्तन हुनुलाई आश्चर्य मानिएको छ । सेयर बजारसँग सम्बन्धित करसँग सम्बन्धित बुँदाहरुको सम्बोधन हुने वा नहुने मङ्गलबार बजेट नआई केही भन्न सकिँदैन । तर, बजार भने बजेट आउनु अघिल्लो दिननै ठूलो अन्तर कायम गरेर बढेको छ । नेपाल धितोपत्र बोर्डले विद्यमान ऐनमा समस्या भए संसोधन गरेरै भए पनि सेयरमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउन नहुने अडानसहितको सुझाव सरकारलाई दिएको छ । बोर्डले गत वर्ष पनि सेयर कारोबारमा भ्याट लगाएर सर्वसाधारण लगानीकर्ताको लागतलाई बढी पर्न दिनु नहुने पक्षमा सरकारको ध्यानाकर्षण गराइसकेको थियो । यस्तो स्थितिमा सीमित लगानीकर्ताले बजेटमा यस्तो कुरा आउँछ भनेर हल्ला गर्ने र त्यसैका आधारमा सेयर कारोबारलाई चलायमान गराउने वातावरण पनि बन्छ । यसतर्फ भने सामान्य लगानीकर्ता विशेष चनाखो बन्नुपर्छ ।
सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) आइतबार कारोबार खुल्दा १३००.४१ अङ्कमा रहेकोमा कारोबार बन्द हुँदा ३५.९८ अङ्क (२.७ प्रतिशत)ले बढेर १३३६.३९ अङ्क कायम भएको छ । कारोबारको सुरुबाटै बढेर मध्य समयमा केही सुस्ताएको बजार अन्तिम समयमा झन तीव्र गतिमा बढेको हो ।
आइतबार सङ्घीय संसद्बाट सरकारको नीति तथा कार्यक्रम पारित भइरहँदा नेप्से) भने १७.८१ अङ्कले घटेको थियो । जेठ ७ गते आएको सरकारको नीति तथा कार्यक्रममा सेयर बजारलाई गतिशील बनाइने भन्ने उल्लेख छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आइतबार सङ्घीय संसदमा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस गर्दा सेयर बजार स्थिरता उन्मुख बताएका थिए । तर, लगत्तै बजार तीव्र गतिले घटेर कारोबार बन्द भएको थियो ।
सोमबार ५ हजार ११ कारोबारबाट १३ लाख ५९ हजार ६ सय ७५ कित्ता सेयर खरिदबिक्री भई ४७ करोड ४८ लाख ४६ हजार ९ सय ६१ रुपैयाँबराबरको कारोबार भएको छ । यो कारोबार रकम आइतबारको तुलनामा भने बढी हो । आइतबार ४ हजार ९ सय ५० कारोबारबाट १० लाख २३ हजार ७ सय ३६ कत्तिा सेयर खरिदबिक्री भई ३९ करोड ६८ लाख ६७ हजार ७ सय ५२ रुपैयाँको कारोबार भएको थियो । सोमबार सबैभन्दा बढी कारोबार सिटिजन्स बैङ्क इन्टरनेसनलको संस्थापक सेयर ५ करोड ६ लाख २२ हजार रुपैयाँको खरिदबिक्री भएको छ ।
सोमबा नेप्सेमा वर्गीकृत १० उपसमूहका सबै सूचक उकालो लागेपछि नेप्सेले पनि नयाँ उचाइ लिएको हो । सोमबार सबैभन्दा बढी बिमा सूचकमा २७२.४४ अङ्कको वृद्धि देखिएको छ । दोस्रोमा रहेको होटल १०१.११, लघुवित्त ५९.०६, विकास बैङ्क ४८.२८, उत्पादनमूलक ४७.४५, जलविद्युत् ४७.३६, बैङ्किङ २५.४६, अन्य १७.५२, वित्त १०.३५ र व्यापार २.५३ अङ्कले बढेको छ ।