कारोबार सुरु हुने बित्तिकै बृद्धिको लाइनमा देखिएको बजार तुरुन्तै घटेको थियो । त्यसपछि फेरि बजार एकाएक माथि चढ्यो तर, त्यो चढाइ पनि धेरै टिकेन ।
सरकारले आगामी आर्थिक वर्ष (२०७५/७६५)को बजेट घोषणा गर्ने समय नजिँकिँदै गर्दा सेयर बजारमा भने तीव्र उतारचढाव देखिएको छ । कारोबार सुरु हुने बित्तिकै बृद्धिको लाइनमा देखिएको बजार तुरुन्तै घटेको थियो । त्यसपछि फेरि बजार एकाएक माथि चढ्यो तर, त्यो चढाइ पनि धेरै टिकेन ।
विगतमा ७ कार्यदिनसम्म लगातार घटेको सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार नाटकीय रुपमा ३५.९८ अङ्कले बढेर १३३६.३९ मा रोकिएकोमा मङ्गलबार कारोबार सुरु हुनेबित्तिकै बढेर १३४०.५३ अङ्कमा चढेको थियो । तर, यो वृद्धि धेरै समय चलेन र केही समयमै घटेर १३२४.२४ अङ्कसम्म झ¥यो । नेप्सेको यो झराइ पनि धेरै बेर टिकेन र फेरि बजार उकालो लाग्यो र १३३६.२४ अङ्कसम्म चढ्यो । घटबढको तीव्रता यतिमै रोकिएन, र फेरि बजार घट्न थाल्यो । सवा १ बज्दा नेप्से १३२४.०९ अङ्कमा रोकिएर सेयर कारोबार भइरहेको छ । यस्ता अवसरहरुमा प्रायः केही सीमित लगानीकर्ता अनेकन अफवाह चलाएर बजार प्रभावित बनाउने सम्भावना बढी रहन्छ । त्यसतर्फ सामान्य लगानीकर्ता विशेष चनाखो हुनुपर्छ ।
सेयर बजारसँग सम्बन्धित करको मुद्दाले धेरैलाई तानेको छ । विगत केही वर्षदेखि महालेखापरीक्षकको कार्यालयले सेयर दलालको कमिसनमा मूल्य अभिवृद्धि कर लगाउन भनिरहेको छ र केही दलालको नाममा यस्तो रकम बेरुजुको रुपमा देखाइरहेको छ । तर, सरकारले त्यसका बारेमा निर्णय गरेको छैन । बेलाबेलामा आइरहने यो मुद्दा सेयर बजारलाई अस्थिर बनाउन पटक पटक प्रयोग भएको छ । तर, यसको निकास आउँछ कि आउँदैन आजै ४ बजेट अर्थमन्त्री डा युवराज खतिवडाले सङ्घीय संसदमा बजेट नपढीकन केही भन्न सकिँदैन । तर, अर्थमन्त्री खतिवडाले उत्पादनमूलक क्षेत्रका कम्पनीहरु सेयर बजारमा जानुपर्नेमा जोड दिँदै आएका छन् ।
केही समययता जलविद्युत् क्षेत्रका कम्पनीले सार्वजनिक निष्कासनमा सरिक भएपनि अन्य क्षेत्रका कम्पनीहरु भने सेयर बजारमा आउनै चाहेका छैनन् । सेयर बजारमा बैङ्क तथा वित्तीय संस्थाको मात्रै बोलवाला रहेको भन्दै उनले दूरसञ्चारसँग सम्बन्धित कम्पनी, सिमेन्ट, रड/स्टिल र अन्य उत्पादनमूलक क्षेत्रका ठूला कम्पनीहरु ल्याउन पहल गर्ने बताउँदै आएका छन् ।
आज आउने बजेटले पुँजी बजारको संरचनागत र नीतिगत सुधारमा जोड दिने देखिन्छ । नीति तथा कार्यक्रममा पनि पुँजी बजारलाई गतिशील बनाइने उल्लेख गरिएको थियो । पुँजीगत लाभकरलाई छोटो अवधि र लामो अवधिको कारोबारका आधारमा लगाउने सम्भावना पनि त्यत्तिकै छ ।