चिनियाँ कम्पनीसँग सम्झौता तोडेर स्वदेशी लगानीमै बन्ने भो पश्चिम सेती

सरकारले चिनियाँ कम्पनीले निर्माण गर्ने भनिएको ७ सय ५० मेगावाटको जलाशययुक्त आयोजना सम्झौता तोडेर स्वदेशी लगानीमा निर्माण गर्ने घोषणा गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार संघीय संसदमा प्रस्तुत गरेको २०७५÷०७६ बजेटमा पश्चिम सेती आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने घोषणा गरेका हुन ।

६ वर्षदेखि चिनियाँ कम्पनीले ओगटेको आयोजना सरकारकै लगानीमा निर्माण गर्ने घोषणा गरिएको छ । चाइना थ्रि–गोर्जेजको सहायक कम्पनी सिडब्लूई इन्भेष्टमेन्ट कर्पोरेशनले ६ वर्षदेखि आयोजना लिएर अघि बढाउन सकेको छैन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यसअघि नै पश्चिम सेतीमा चिनियाँ कम्पनीसँग सम्झौता खारेज गर्ने बताएको थियो ।